मौद्रिक नीति समीक्षा : ब्याजदरमा कडाइ हुने (पूर्णपाठसहित )
काठमाडौं, जेठ १३ । नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदरलाई कडाइ गर्ने निर्णय गरेको छ।
मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा दबाब सिर्जना भएको भन्दै ब्याजदरका साथै अन्य छनौट पूर्ण उपकरणहरु अपनाउने जनाएको छ।
यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा हो। राष्ट्र बैंकले विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरुलाई यथावत् राख्ने समीक्षामा बताएको हो।
केन्द्रीय बैंकले मूल्य तथा बाह्य क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवर्द्धनलगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिने समेत समीक्षामा बताइएको छ।
मौद्रिक नीतिअनुसार कोभिडको समयमा अवलम्बन गरिएको लचिलो नीतिगत कार्यदिशा र कोभिड संक्रमणमा आएको कमीले आर्थिक पुनरुत्थानको गति बढ्नुको साथसाथै आन्तरिक मागसमेत विस्तार भएको छ।
आन्तरिक उत्पादन र मागबीच बढ्दै गएको अन्तरको प्रभाव व्यापार घाटा, चालू खाता तथा शोधनान्तर घाटा र विदेशी विनिमय सञ्चिति जस्ता बाह्य क्षेत्रका परिसूचकहरुमा परेको छ।
बाह्य क्षेत्रमा परेको दबाब कम गर्न अवलम्बन गरिएका नीतिगत व्यवस्थाका फलस्वरुप विदेशी विनिमय सञ्चितिको घट्ने दर केही कम भएको छ। तथापि, आन्तरिक माग तथा आपूर्तिको अवस्था, विप्रेषण आप्रवाहको वर्तमान प्रवृत्ति र अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवा र पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिका कारण आयात मूल्यमा भएको वृद्धिसमेतलाई दृष्टिगत गर्दा बाह्य क्षेत्र स्थायित्वमा विद्यमान जोखिम केही समय कायमै रहने देखिन्छ।
विश्वव्यापी रुपमा भइरहेको वस्तु तथा इन्धनको मूल्यवृद्धि र सार्वजनिक यातायातको भाडादरमा गरिएको समायोजनलगायतका कारणहरुले नेपालमा समेत मूल्यमा चाप पर्न गएको छ।
साथै, कोभिड संक्रमणले विश्व आपूर्ति व्यवस्थामा ल्याएको अवरोध, कोभिड संक्रमण कम भएसँगै विश्व आर्थिक गतिविधिमा भइरहेको विस्तार र रसिया–युक्रेनबीचको युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र वस्तु तथा सेवाको मूल्यमा वृद्धि भइरहेको छ।
यसर्थ, आन्तरिक मूल्यमा विद्यमान चापको स्थिति केही समयसम्म कायमै रहने देखिन्छ। आर्थिक पुनरुत्थानले गति लिएसँगै आन्तरिक मागमा आएको विस्तारका कारण वित्तीय स्रोत अन्तर बढ्न गएको छ ।
बढ्दो स्रोत अन्तर र विदेशी विनिमय सञ्चितिमा आएको संकुचनका कारण बैंकिङ्ग प्रणालीबाट तरलता प्रशोचन भई एकातिर ब्याजदरमा दबाब पर्न गएको छ भने अर्कोतिर बाह्य क्षेत्र स्थायित्व कायम गर्न मौद्रिक नीतिको कार्यदिशा कसिलो राख्नुपर्ने अवस्था रहेको समिक्षामा बताइएको छ।
यस्तो छ पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्