गरिब घर-परिवारलाई राज्य सुविधा परिचयपत्र दिने सरकारको घोषणा, पुँजीगत खर्च बढाउन छुट्टै कानुन बनाउने
काठमाडौं , जेठ १० । सरकारले पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र वितरण गर्ने भएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिब तथा विपन्न घर–परिवारलाई लक्षित सेवा सुविधा प्रदान गर्न सोही परिचयपत्रको आधारमा वितरण गरिने बताइन् ।
साथै, उनले हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जंन कार्यक्रमलाई मानव विकास सूचांकमा पछाडि परेका जिल्लामा विस्तार गरिने जानकारी दिइन् ।
त्यस्तै सरकारले पुँजीगत खर्च वृद्धि गर्न छुट्टै कानुन बनाउने भएको छ । संघीय संसदको संयुक्त सदनमा सरकरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाउने बताइन् ।
साथै पुँजीगत खर्च वृद्धि र विकास आयोजना कार्यन्वयनलाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकास सम्बन्धी छुट्टै कानुनको तर्जुमा गर्ने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस्