काँग्रेसमा उम्मेदवार चयन गर्न संसदीय समिति गठन

काठमाडौं । प्रमुख सत्तारुढ पार्टी नेपाली काँग्रेसले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी आज संसदीय समिति गठन गर्ने नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो । यद्यपि, समितिमा रहेका नाम भने सार्वजनिक गरिएको छैन ।

यही असोज २० गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार चयन गर्न पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय गरेको थियो ।

केन्द्रीय समिति बैठकले यही आश्विन २७ गतेभित्र प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सबै उम्मेदवारहरुको नाम टुंगो लगाइसक्ने निर्णय समेत गरेको थियो ।

पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्न सक्ने प्रावधान छ । विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्न सक्ने प्रावधान रहको छ ।

समितिलाई पार्टीका तर्फबाट संसदको निर्वाचनमा उम्मेदवार चयन गर्ने र केन्द्रीय समितिमा पेश गर्ने अधिकार तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्