जनताप्रति मेरो समर्पण र म प्रति जनताको धेरै विश्वास छ

स्थानीय तहको निर्वाचन हुन अब एकसाता मात्र बाँकी छ । सबै राजनीतिक दल र उम्मेद्वारहरु चुनावी प्रचारमा व्यस्त रहेका छन् । ललितपुर महानगरपालिकाको वडा नं. १ को वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट ध्रुबलाल तण्डुकारले उम्मेद्वारी दिएका छन् । स्थानीय तहको निर्वाचनको अवस्था र आगामी नेतृत्वको विषयमा केन्द्रीत रहेर अध्यक्षका उम्मेद्वार तण्डुकारसँग चुनावी विषयमा गरिएको कुराकानीको सम्पादित अंश:

चुनावको प्रचार–प्रसार कार्यलाई कसरी अगाडि बढाइरहुन भएको छ ?

हामीले अहिले वडा भित्र रहनुभएका मतदाताहरुको घर–घरमा गएर प्रचार–प्रसार गरिरहेका छौं । मतदाताहरुलाई भेट्ने प्रचार–प्रसार सामग्री प्रदान गर्ने, टोलस्तरीय भेला तथा छलफल गर्ने र मत माग्ने काम गरिरहेका छौं । दैनिकजसो बिहानदेखि साँझसम्मको कार्यक्रम तालिका बनाएर प्रचार–प्रसार कार्य भईरहेको छ ।

विगतमा पनि यस वडामा तपाईंकै पार्टीको उम्मेद्वारले चुनावमा विजय हासिल गर्नुभएको थियो । विगत ५ वर्षमा वडामा भएका कामलाई कसरी समिक्षा गर्नुभएको छ ?
हो, स्थानीय तहको पहिलो निर्वाचनमा पनि यस वडामा हाम्रो नेपाली काँग्रेस पार्टीले नै बिजय हासिल गरेको थियो । विगत ५ वर्षको समयमा हामी सबैको सामुहिक प्रयासबाट सडक सुधार, ढल निर्माण, सिसिटिभी जडान, आदि लगायत महत्वपुर्ण कामहरु भएका छन् । फेरि पनि शहरलाई थप व्यवस्थित बनाउन अझै धेरै कामहरु गर्नुपर्ने अवस्था रहेको छ । जुन हामीले आगामी दिनमा पुनः गर्दै जानेछौं ।

तपाईं वडा अध्यक्षमा चुनाव उठ्दै गर्दा आगामी ५ वर्षमा के–कस्ता कार्यक्रम गर्ने एजेण्डाहरु अगाडि सार्नुभएको छ ?
मेरो एजेण्डा भनेको हाम्रो वडा र वडा भित्रका प्रत्येक टोललाई व्यवस्थित गर्नु नै हो । वडाका कामकारवाहीमा शुसासन कायम गर्ने, वडावासीहरुको स्वास्थ्यलाई ख्याल गर्दै निःशुल्क आधारभुत स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने र वडा भित्र रहेका सार्वजनिक जग्गामा खेलमैदान र पार्क निर्माण गर्ने विषयलाई हामीले चुनावी एजेण्डाको रुपमा अगाडि सारेका छौं । त्यस्तै जेष्ठ नागरिक, महिला र सिमान्तकृत समुदायका व्याक्ति तथा परिवालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याई सहयोग गर्ने, वडा भित्र रहेका निजी विद्यालयहरुमा वडाबासीको छोराछोरीको लागि विशेष छुट तथा छात्रवृत्तिको व्यवस्था मिलाउन आवश्यक कार्य गर्ने विषयलाई हामीले अगाडि बढाएका छौं । टोलहरुलाई सुन्दर बनाउनको लागि विद्युतीय पोलमा रहेका तारहरुलाई व्यवस्थित गर्ने, सम्भावना भएका ठाउँहरुमा वृक्षारोपण गर्ने, धुलो र फोहोरलाई सडकसम्म पुग्न नदिनको लागि सडक किनारालाई व्यवस्थित गर्ने कामलाई हामीले प्राथमिकताका साथ गर्नेछौं । साथै वडामा शान्तिसुरक्षा कायम गर्नको लागि हामीले प्रशासनसँग निरन्तर सहकार्य गरेर काम गर्नेछौं ।

खासमा यस वडामा भएका समस्या र आवश्यकतालाई तपाईंले अगाडि सारेका एजेण्डाले सम्बोधन गर्न सक्छन् ?
मैले हाम्रो वडामा तत्काल गर्नुपर्ने र गर्न सकिने कामहरुलाई एजेण्डाको रुपमा उठान गरेको छु । यी एजेण्डाहरुले सम्भवतः धेरै शहरलाई व्यवस्थित गर्नको लागि धेरै विषयलाई सम्बोधन गर्छ । सँगै मैले भोलिका दिनमा यहाँको समस्या र आवश्यकतालाई हल गर्नको लागि यहाँका सम्पुर्ण जनतासँग जोडिएर नै काम गर्नेछु ।

तपाईंले चुनावमा सफलता हासिल गर्ने सम्भावना कत्तिको रहेको छ ?
अवश्य पनि मैले चुनावमा सफलता प्राप्त गर्छु । मैले अहिलेसम्म यस वडा तथा टोलबासीहरुमा समर्पित भएर काम गरिरहेको कुरालाई उहाँहरुले पक्कै पनि सकरात्मक रुपमा मूल्यांकन गर्नुभएको छ र आगामी दिनमा पनि यो क्षेत्रको सम्पुर्ण विषयहरुमा विकास र आपसी सहकार्यका लागि मलाई सबैले माया र विश्वास गर्नुहुन्छ भन्नेमा म विश्वस्त रहेको छु ।

प्रतिक्रिया दिनुहोस्