‘४२ वर्ष भयो राजनीति गरेको अब पनि ललितपुर महानगरमा टिकट नपाए अर्को पटक त बुढो भइसक्छु’ – भरतलाल न्याछ्यों

काठमाडौं, बैशाख ८ ।  ललितपुरका कांग्रेसका पुराना नेता भरतलाल न्याछ्योंले २०५४ र २०७४ सालमा भएको स्थानीय निर्वाचनमा ललितपुरको मेयरमा दाबी गरेका थिए । उनले त्यतिबेला पाएनन् । उनी त्यतिबेला आफूविरुद्ध षड्यन्त्र भएकाले टिकट नदिएको बताउँछन् । अब भनें स्वभाविक रुपमा टिकट पाउने उनी दाबी गर्छन् । पार्टीको महानगर समितिले उनीसहित ७ जनाको नाम केन्द्रमा पठाएको छ ।

‘म कांग्रेसको त्यहाँको पुरानो मान्छे हुँ, सबै महानगरवासी र जनतासँग मेरो राम्रो सम्बन्ध छ त्यसैले पनि एक पटक मेयर भएर काम गरौं भन्ने हो’ उनले भने ‘ मेरो प्रष्ट भिजन छ, त्यसमा दायाँबायाँ गर्दिन, ललितपुरलाई साँच्चै नै ललितपुर बनाउने योजना मसँग छ ।’ उनी ललितपुरमा धेरै राम्रो सम्भावना भए पनि त्यसलाई बुझेर अहिलेसम्मको नेतृत्वले काम नगरेको आरोप लगाउँछन् । ‘अहिलेको अवस्थामा अरुको आलोचना गर्नुभन्दा पनि मेरो योजना के हो भनेर जनतालाई बुझाउन लागेको छु’ उनले भने ‘कांग्रेसले मलाई टिकट दियो भनें जित्छु र केही गरेर देखाउँछु ।’ उनले वर्तमान मेयर चिरीबाबु महर्जनले अवसर पाउँदा पनि काम गर्न नसकेको बताए । उनले मेयर महानगरको अभिभावक भए पनि त्यो भूमिका खेल्न नसकेको जनाएका छन् ।
उनले ललितपुर ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल भए पनि त्यसबारे महानगरपालिकाले प्रचार प्रसार गरेको भए आजसम्म धेरै प्रगति भइसक्ने बताए । उनले ललितपुरमा भएका सम्भावनालाई विश्वसामु पुर्याउने र त्यसबाट पर्यटक तान्दै आर्थिक रुपमा महानगरलाई सवल बनाउनुका साथै स्थानीयको दैनिकी बदल्ने योजना रहेको सुनाए ।

उनले ललितपुरका प्रत्येक गल्ली र सडकमा धार्मिक र ऐतिहासिक सम्पदा भएकाले त्यो नै आम्दानीको प्रमुख स्रोत भएको बताए । उनले हस्तकला र मुर्तिकलालाई प्रोत्साहन गर्ने, गरिबी निवारणमा भूमिका खेल्ने, मानिसमा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने, नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने, सुरक्षित शहर निर्माण गर्ने, राती पनि खोल्न मिल्ने शहरको कल्पना गर्ने, पार्किङलाई व्यवस्थित गर्ने योजना अघि सारेका छन् । त्यतिमात्र होइन उनले अपांगमैत्री, बालमैत्री, वृद्धवृद्धा पार्क बनाउने, काम बढी गर्ने गफ कम गर्नेलगायतका आफ्ना प्रमुख मुद्या रहेको जनाए ।

महानगरपालिकाको वडा नम्बर ५ निवासी उनी अहिले कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । उनी यसअघि पनि महाधिवेशन प्रतिनिधि नै थिए । दुई पटकसम्म पार्टीको नगर समिति सभापति भएका उनी २०४९ सालमै पार्टीको जिल्ला सह–सचिव भएका थिए । २०३६ सालबाट नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनले पटक पटक लोकतन्त्र प्राप्तिको लागि निर्णायक र प्रभावकारी भूमिका खेल्दै आएका छन् । ‘अबको समय जनतालाई दिएर परिणाममुखी काम गरौं भन्ने हो, म मेयर भएर गरेको काम इतिहासमै लेखियोस् भन्ने चाहन्छु’ उनी आशावादी हुँदै भन्छन् ‘पार्टीले मेरो योगदान, लगानी, संघर्ष र क्षमता हेरेर टिकट दिन्छ भन्ने लाग्छ ।’ २०४० सालमै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा डिग्री गरेका उनी अरु पार्टीका लागि पनि कुशल अभिभावक र सहयोगी बनेर काम गर्दै आएका छन् ।

उनले २०५४ सालमा पनि ललितपुरको मेयरको दाबी गरेका थिए । त्योबेला २०४९ सालमै जितेका कांग्रेसका उम्मेदवार वेखरत्न शाक्यलाई फेरि पनि उम्मेदवार बनाइयो, शाक्यले हारे । शाक्यलाई नेकपा एमालेका बुद्धिरत्न वज्राचार्यले जिते । ‘२०५४ सालमा नै मलाई टिकट दिएको भए जित्थें, ममाथि षड्यन्त्र भयो र पाटीले हार्यो, २०७४ मा पनि त्यस्तै उस्तै भयो मैले पाइन’ उनी भन्छन् ‘ मलाई सबैले किन तपाईचाहिँ मेयरको उम्मेदवार नभनुभएको भनेर सोधिरहन्छन्, जवाफ दिँदादिँदै हैरान भएँ, यसपालिबाट त्यो समस्या नहोला कि ।’ उनी ‘न्यूट्रल’ मत पनि आफूले ल्याउन सक्ने बताउँछन् ।

नेकपा एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनी अहिलेका मेयर महर्जनसँग थोरैमात्र मतले हारेका थिए । ललितपुर महानगरपालिकामा १ लाख २३ हजार मत छ । २९ वटा वडा रहेकामा कांग्रेसले मेयर र उपमेयरसहित १० वटा वडा जितेको छ । नेकपा एमालेले १५ वटा वडाध्यक्ष जितेकामा ३ जना वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा रहेका छन् । नेकपा (माओवादी केन्द्र) ले ४ वटा वडा जितेको छ । उनले ‘यस पटक र एक पटक’ नारा अघि सारेका छन् । ‘सधैं म नै भइरहनुपर्छ भन्ने छैन, उल्लेखनीय र ऐतिहासिक काम गरेर अर्को पटक अरुलाई अवसर दिन्छु’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्