पपुवा न्युगिनीलाई पराजित गर्दै नेपाल फाइनलमा, करणको ह्याट्रिक
काठमाडौं, चैत १७ । आयोजक नेपाल लगातार तेस्रो जित निकाल्दै त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनल पुगेको हो ।यससँगै नेपालले आफ्नो ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा सुखद नतिजा निकालेको छ ।
नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ६६ रन मात्र बनाउन सक्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो ।
नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले ।यस्तै आदीलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए ।
त्यस्तै रोहित पौडेलले २३ बलमा २ छक्का र ४ चौकाको मद्दतमा ४१ रन जोडे । आसिफ शेखले २९ बलमा ३८ रन बनाउँदा कुशल भुर्तेलले १७ रनको योगदान गरे ।
पीएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए । यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १/१ विकेट लिए ।
जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।
मलेसिया २ खेलमा २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्