उच्च अदालतले माग्यो पल शाहलाई थुनामा राख्नुको कारण
काठमाडौं, चैत १६ । नाबालिग गायिका बलात्कारको आरोपमा यति बेला अभिनेता पल शाह पुर्पक्षका लागि जेलमा रहेका छन् ।
उनलाई तनहुँ जिल्ला अदालतले थुनामा पठाएको हो । तर उनले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिए ।
सोहि अक्रममा उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामा राख्ने आदेशबारे जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको छ।
बुधबार शाहको पुनरावेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पल शाहको आदेश बारे कैफियत प्रतिवेदन झिकाउन आदेश दिएका हुन्।
यसअघि गत बिहीबार जिल्ला अदालत तनहुँले शाहलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा गएका हुन्।
बुधबारको सुनुवाइपछि थुनामा राख्न गरिएको आदेश बारे जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरिएको शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए।
‘शाहलाई के कति कारणले थुनामा राखिएको हो। कैफियत प्रतिवेदन पठाउनु भनेर जिल्ला अदालतलाई उच्च अदालतले आदेश दिएको छ’, वाग्लेले भने।
पलविरुद्ध तनहुँ प्रहरीमा गएको फागुन ११ गते उजुरी परेको थियो । उजुरीपछि पल फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आफैँ उपस्थित भएका थिए ।
पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्