नेप्सेमा निरन्तर गिरावट, कारोबार पौने २ अर्बमा खुम्चियो

काठमाडौं, चैत १५ ।  सेयरबजारमा पछिल्ला केही दिनयता निरन्तर गिरावट आइरहेको छ।आज मंगलबार पनि नेप्से १४.२६ अंकले घटेको छ भने सेन्सिटिभ पनि २.१५ अंकले झरेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २ सय २५ वटा कम्पनीको सेयर कारोबारमा सामेल भए पनि ३८ लाख ९० हजार कित्ता मात्रै बिक्री भएको छ।

दिनभरिमा ३१ हजार ४३१ पटकको खरिदबिक्रीमा १ अर्ब ७५ करोड रुपैयाँको मात्रै कारोबार भएको हो।

आज १३ मध्ये होटल र पर्यटनबाहेक बाँकी सबै सूचक राताम्य छन्। सर्वाधिक गिरावट जीवन बीमा समूहमा देखिएको छ। यो समूहको २१९.६३ अंकले सूचक घटेको हो।

आज ५१ कम्पनीको सेयर मूल्य बढ्दा १३१ को घटेको छ भने ११ वटाको अवस्था उही छ।

त्यस्तै आज इमर्जिङ नेपाल, नेस्डो र राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले १० प्रतिशत आम्दानी गरे पनि अन्य कम्पनीका लगानीकर्ता निराश हुनुपरेको छ।

लगानीकर्ताले मंगलबारको कारोबारबाट ४.७३ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।

यस्तै आज शिवम् सिमेन्टको ७ करोड ९१ लाखको कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्