युट्यूवमा आफ्नो चरित्रहत्या गरिएको भन्दै साइबर ब्यूरोमा रेखा थापाको उजुरी

काठमाडौं , फागुन २० । अभिनेत्री रेखा थापाले युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् । रेखाको तर्फबाट एक आफन्त निवेदन दिन आज ब्यूरोमा पुगेकी थिइन् ।

आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ । पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपश्चात रेखामाथि गालीगलौज सुरु भएको थियो ।साइबर ब्यूरोका एसएसपी नबिन्द अर्यालले रेखाको तर्फबाट निवेदन आएको पुष्टि गरे ।

उनले भने, ‘उहाँको निवेदन आएको छ । हामी अध्ययन गरिरहेका छौं,’ । त्यसैगरि विद्युतीय माध्यममार्फत आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन्। वाइबाले छवि ओझासँगको सम्बन्ध उद्धृत गर्दै रेखालाई ‘चरित्रहिन महिला’ भनेपछि रेखाले प्रहरी गुहारेकी हुन्।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा तनहुँमा दैनिकजसो प्रदर्शन हुन थालेपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत व्यक्त गरेकी थिइन्। रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए।

यता आजै साइबर ब्यूरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत पिडितको गोपनियता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोष्ट नगर्न चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्