अक्षय कुमारको गोरखामा सैयौं नेपालीको आबेदन

काठमाडौं, फागुन १ ।  अक्षय कुमारको मुख्य भूमिका हुने बलिउड फिल्म ‘गोरखा’ले नेपाली कलाकारको लागि कैयौ आवेदन परेको छ ।

यसै साता सो फिल्मको लागि नेपाली कलाकारहरु चाहियो भनेर अडिसन आह्वान गरिएको थियो । आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको फिल्मले अडिसन सूचना जारी गर्दै नेपालबाट महिला र पुरुष कलाकारको आवेदन मागेको हो ।

जनवरीमै अडिसन मागिएपनि इच्छुक कलाकारले फेब्रुअरी ५ सम्म मात्र आवेदन दिन सक्ने भनिएको थियो । सो सूचना पछि भारतमा रहेका नेपाली मुलका कलाकार र नेपालबाट पनि विभिन्न कलाकारले अडिसनको लागि आबेदन हालेको निर्माण पक्षले जनाएको छ ।

यो फिल्ममा गोरखा रेजिमेन्टको गोरखाली सेनाको भूमिकामा नेपाली कलाकारलाई राखिने भएको छ । सोही कारण नेपाली कलाकारको माग गरिएको निर्माण पक्षले जनाएको छ । अडिसन दिएका कलाकार मध्यबाट उपयुक्त चयन गरेर फिल्मको छायाँकन थालिने भएको छ ।

भारतीय सेनाअन्तर्गतको गोरखा रेजिमेन्ट (पाँचौ बटालियन)का युद्ध सैनिक इयान कार्डोजोको जीवनमा आधारित उक्त फिल्मको मुख्य भूमिकामा अक्षयले अभिनय गर्दैछन् । सन् १९७१ को भारत–पाक युद्धमा पनि उनले सहभागिता जनाएका थिए । उनको सहयोगीको भूमिकामा नेपाली कलाकार हुनेछन् ।

युद्धको क्रममा घाइते भएर पनि इयानले सन् १९६२ र १९६५ को युद्धमा कसरी कुशलतापूर्वक गोर्खा बटालियनको नेतृत्व गरे भन्ने कथावस्तु यसमा प्रस्तुत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्