कांग्रेस केन्द्रीय समिति बैठक बोलाउने तयारी, मुख्य एजेण्डा निर्वाचन

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । शुक्रबार बैठक बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समितिको बैठक भर्चुअल रुपमा गरिने छ ।

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्नेगरी केन्द्रीय समिति बैठक बोलाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दबाव दिँदै आएका थिए ।

संविधानअनुसार पाँच वर्षभित्र स्थानीय जनप्रतिनिधिको निर्वाचन हुनुपर्ने भएपनि अहिले सत्ता गठबन्धनमा निर्वाचन ६ महिना सार्ने सहमति भएको छ । सत्ता गठबन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदको निर्वाचन पहिले गरेर स्थानीय तहको निर्वाचन ६ महिनापछि गर्ने प्रस्तावलाई सत्ता गठबन्धनले अनुमोदन गरेसँगै त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

निर्वाचन आयोगले बारम्बार पाँच वर्षभित्रै निर्वाचन गराउनुपर्ने भन्दै सरकारलाई ध्यानकर्षण गराइरहेको भएपनि नेपाली कांग्रेस समेत निर्वाचन सार्ने पक्षमा उभिन थालेपछि निर्वाचनबारे उचित निर्णय लिन बैठक बोलाउन लागिएको बताइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समयमा स्थानीय निर्वाचन गराउन दबाब सिर्जना गरिरहेको छ ।

एमालेले संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत भएको र सत्ता गठबन्धनले गरेको व्याख्या मान्य नहुने भन्दै अदालत जाने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्