महामारीका कारण घट्न थाले हवाई यात्रु

काठमाडौँ , १० माघ । कोरोना भाइरसको तेस्रो भेरियन्टको फैलावटसँगै हवाई यात्रुको संख्यामा गिरावट आउन थालेको छ ।

यससँगै वायुसेवा कम्पनीहरुले उडान संख्या र हवाई भाडासमेत धमाधम कटौती गरिरहेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो साता उडान संख्यामा १० प्रतिशतसम्म कटौती भइसकेको छ ।

दैनिक ७०भन्दा माथि उडान गर्ने बुद्ध एयरले सोमबारका लागि ६४ वटा मात्र उडानको तालिका राखेको छ । यति एयरलाइन्सले समेत सोमबार २२ वटा मात्र उडानको तालिका राखेको छ । सौर्य, श्री एयरलाइन्स तथा गुण एयरलाइन्सले समेत साविकको तुलनामा उडान संख्या कटौती गरेका छन् ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिले अत्यावश्यक यात्रामा निस्कनेहरुमाथि घर बाहिर निस्किएका छन् । जसका कारण संख्या कम भएको हो । यसमा खासगरी घुमफिरको प्रयोजनमा निस्कने यात्रुको संख्या घटेको छ । अर्कोतर्फ तराई भेगमा अत्यधिक कुहिरोका कारण उडान नै अवरुद्ध हुने क्रमका कारण समेत साविकको तुलनामा यात्रु संख्या घटेको छ ।

जहाज चढ्ने यात्रुमा जहाजका माध्यमबाट कोरोना नसरोस भन्नेमा निकै सचेतना अपनाइएको बुद्ध एयरका संचार अधिकृत दीपेन्द्र कर्णले बताए ।

‘छोटो अवधिमा गन्तब्यमा पुगिने र यात्रु तथा कर्मचारी सबैले अनिवार्य कोरोना मापदण्ड पालना गर्ने हुँदा यात्राका दौरान कोरोना सर्ने सम्भावना निकै कम छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्