चिसो बढेसँगै देशभर रुघाखोकी तथा ज्वरोका बिरामी बढे

काठमाडौँ, माघ ६ । पछिल्लो समय देशभर रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । चिसो बढेसँगै बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । विभिन्न ठाउँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए ।उनका अनुसार चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँका सङ्ख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ ।

रुघाखोकी तथा ज्वरो भएका बिरामीले पिसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै यहाँका गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पिसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यसैगरी जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ५० देखि ६० जनाजम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् ।

गाउँघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छाएको जोरायल गाउँपालिका–५ गड्सेरा स्वास्थ्यचौकीका अनमी विद्यी भण्डारीले बताए । गाउँ–गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे संगै कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता भएकोले कसैले जांच गर्न नाआउने उनले बताएका छन् ।

जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् । चिसो मौसम सुरु भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ । जिल्लामा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना सङ्क्रमण पनि बढ्दै गएका खबरले यहाँका नागरिकमा चिन्ता छाएको बताइएको छ ।

त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिकामा एकाएक मौसममा आएको परिर्वतनसँगै चिसो बढेका कारण यहाँका नागरिकलाई समस्या भएको भन्दै ४० जनालाई न्यानो कपडा कम्मल वितरण गरिएको छ ।

भागरथी निर्माण सेवा धनगढी–५ कैलालीका प्रोपराइटर तथा नेपाल तरुण दल बडिकेदार गाउँपालिका अध्यक्ष केशव बमको आर्थिक सहयोगमा उक्त पालिकाको वडा नं २ का सायल, गतेपसेला र सिर्सी गाउँमा रहेका विपन्न परिवार, बालबालिका तथा दलित गरी कूल ४० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको स्थानीयवासी तथा सञ्चारकर्मी चक्र मल्लले जानकारी दिएका छन् ।

चिसोको समयमा न्यानो कपडा आफूहरूलाई निकै राहत भएको बडिकेदार–२ की महिला पविसरा सार्कीले बताइन् । उनले चिसो अत्यधिक बढेको छ, घरमा ओढ्ने, ओछ्याउनेको समस्या थियो, आज निःशुल्क ब्लाङ्केट पाउँदा निकै राहत भएको बताएकी छिन् । जिल्लाका अन्य ठाउँमा रहेका विपन्न परिवारलाई पनि राहतस्वरुप न्यानो कपडा वितरण गरियोजना गरेको नेपाल तरुण दल बडिकेदारका अध्यक्ष बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्