मन्त्री रेणु यादवको सीके राउतलाई ज्यान मार्ने धम्की, दिइन् राइस मिल घटना दोहोरिन सक्ने चेतावनी

काठमाडौं, माघ ६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने खालको विवादास्पद भाषण गरेकी छिन् । बुधबार ‘बलिदानी दिवस’ का अवसरमा रौतहट सदरमुकाम गौरमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतलक्षित विवादास्पद अभिव्यक्ति दिएकी हुन् ।

जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् ।बलिदानी दिवस मनाउन गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।

 

चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

जसपा नेता एवं मन्त्री यादवले सम्बोधनका क्रममा पटकपटक राइस मिल घटना नबिर्सन आग्रह गरिन् । ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले भनिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।’

बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले अघि भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।’

उनले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई चुनौती दिएकी छन् ।

१५ वर्षअघि के भएको थियो गौरमा ?

२०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिलमा तत्कालीन माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो । राइस मिलमा एकै स्थानमा तत्कालीन माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो । झडपमा २७ वाईसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भए ।

त्यस दिन राइस मिलमा माओवादी र फोरमले एकै ठाउँमा सभा गर्न लागेको भन्दै नगरपालिका क्षेत्रभरि एकखाले त्रास पैदा भइसकेको थियो । यसको यथार्थ जानकारी हुँदा पनि स्थानीय प्रशासनले रोक्ने प्रयास गरेन । फोरमले मैदानको दक्षिण र माओवादीले उत्तर कुनामा अघिल्लो दिन नै मञ्च बनाइसकेका थिए । त्यही राति मकवानपुर, सिन्धुली, दाङ, बाजुरा, बारा, पर्सा, सिरहा, चितवन, काभ्रे, रुकुम, सप्तरीलगायत जिल्लाबाट वाईसीएल कार्यकर्तालाई सभास्थलमा खटाइएको थियो । उनीहरू साना हतियारसहित आएका थिए । माओवादी कुनै हालतमा फोरमलाई सभा गर्न नदिने पक्षमा थियो भने फोरम गरेरै छाड्ने अडानमा थियो । फोरमले प्रमुख अतिथि नेता उपेन्द्र यादवलाई बोलायो, माओवादीले जिल्ला इन्चार्ज प्रभु साहलाई ।

झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । दुई जनाको सनाखत हुनै सकेन । घटनामा ५३ जना घाइते भएका थिए । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाखका दरले क्षतिपूर्ति पाएका थिए तर न्याय भने कसैले पाएका छैनन् ।

घटनापछि माओवादीको तत्कालीन जनसरकारको नामबाट फोरम र कांग्रेसका १ सय २७ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी ल्याएको थियो तर तत्कालीन एसपी रामकुमार खनालले हुँदै नभएका मानिसको नाम समावेश गरिएको भन्दै जाहेरी दर्ता गरेनन् । पछि जाहेरीमा अभियुक्तको सूची कटौती गरेर १ सय १३ जनाको नाममा ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भयो, जसमा उपेन्द्र यादवदेखि बबन सिंहसम्म थिए । ती सबैलाई प्रहरीले फरार अभियुक्त भनी मिसिलमा चढायो तर खोजखबर गरेन ।

उपेन्द्र यादव त्यसपछि चुनाव जितेर उपप्रधानमन्त्रीसमेत पनि भए । बबन सिंह पहिलो संविधानसभामा निर्वाचित भए । अरू पनि थुप्रै ‘फरार अभियुक्तहरू’ अहिले महत्त्वपूर्ण सार्वजनिक पदमा छन् ।

प्रतिक्रिया दिनुहोस्