आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस : हक र अधिकार कानूनमा मात्रै सिमित !

 

काठमाडौं । आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ ।

महिला अधिकार आन्दोलनको रुपमा संसारभर हरेक वर्ष ८ मार्चमा नारी दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९७४ देखि नारी दिवस मनाउन थालिएको हो । सन् १९१० को मार्च ८ मा कोपनहेगनमा विभिन्न १७ देशका १ सय जना महिला अधिकारवादीको अन्तराष्ट्रिय सम्मेलनले हरेक वर्षको आठ मार्चलाई अधिकार आन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो ।

सन् १९५७ मा अमेरिकाको गार्मेन्टमा काम गर्ने श्रमिक महिलाले निश्चित घन्टाको काम हुनुपर्ने माग सहित गरेको प्रदर्शनलाई विश्व महिला आन्दोलनको शुरुवातको रुपमा लिने गरिन्छ ।

महिला अधिकारवादीले नेपालमा महिलाको अवस्थामा अझै अपेक्षित सुधार नआएको भन्दै हक अधिकारको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै आएका छन् ।

महिला दिवसको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।

नेपालको नयाँ संविधान दक्षिण एसियामै उत्कृष्ट र महिलामैत्री भएपनि त्यसलाई संस्थागत गर्दै कार्यान्वयनमा लैजान ठूलो चुनौती रहेको अधिकारकर्मीहरुको भनाई छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । नेपालको तीन तहको संरचनाअनुसार स्थानीय तहमा करिब ४२ प्रतिशत महिला निर्वाचित भएका छन् ।

प्रदेश र केन्द्रमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व भएको छ । जुन अन्तर्राष्ट्रिय निकायबाट पनि सकारात्मक अभ्यासका रुपमा हेरिरहेको छ । राजनीति जागरण र समानताको कुरा उठे पनि अझै ग्रामीण महिलाले आफूले पाउने सुविधा पाएका छैनन् ।

अझै पनि महिला अनौपचारिकरुपमा काम गर्ने धेरै छन् । जुन ठाउँमा महिला बोल्न सक्दैनन् । ज्यालामा समान छैन । घरेलु श्रमको अहिले पनि कुनै मूल्यमा परिणत गरेको अवस्था छैन । नेपालमा कार्यस्थतमा हुने हिंसासम्बन्धी ऐन छ ।

तर कार्यान्वयन नहुँदा महिलाले त्यसको उपयोग गर्न पाएका छैनन् । घरेलु हिंसासम्बन्धी ऐनको पनि अवस्था उस्तै छ । महिलाको हकमा आवाज उठाउन राष्ट्रिय महिला आयोग छ । आयोगमा उजुरी लिने र सुनुवाइ गर्ने काम पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्