कोरोना नियन्त्रणमा सरकारले सबै संयन्त्र परिचालन गरेको छ : मन्त्री कार्की
काठमाडौँ , २९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमण नियन्त्रणमा सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताउनुभएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यो जानकारी गराउनुभएको हो ।
‘पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ’, मन्त्री कार्कीले फेसबुकमा लेख्नुभएको छ, ‘कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।’
नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध रहेको र खोप अभियानलाई तीव्र बनाइएको उहाँको भनाइ छ । ‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ’, मन्त्री कार्कीले भन्नुभएको छ, ‘खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’
सञ्चारमन्त्री कार्कीले आम नागरिकलाई स्वास्थ्य मापदण्डे अपनाउन समेत अनुरोध गर्नुभएको छ । ‘म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु’, उहाँले फेसबुकमा थप लेख्नुभएको छ ।
पछिल्लो सातामात्र देशभर कोरोना संक्रमितको संख्या ९ प्रतिशतले बढेपछि बिहीबारबाट लागू हुनेगरी सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । संक्रमणको जोखिम बढेसँगै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय समेत गरिसकेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्