नेपाल राष्ट्र बैंकले अवकाश कोषको एक अर्ब ७५ करोड रुपैयाँ निक्षेपको रुपमा लगानी गर्दै
काठमाडौँ , १९ पुस । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गत रहेको पेन्सन तथा उपदान कोषमा एक अर्ब ७५ करोड रुपैयाँ निक्षेपको रुपमा लगानी गर्ने भएको छ ।
बैंकले आगामी माघ ३ गतेदेखि अर्को वर्ष माघ ३, २०७९ सम्म कुल ३६६ दिनका लागि उक्त कोषको रकम ब्याजमा लगानी गर्ने भएको हो ।
इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले भोलि अर्थात् पुस २० गते, चार बजेभित्र आवश्यक प्रक्रिया पुप्याएर निक्षेपका लागि आवेदन दिन सक्नेछन् ।
बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई एक अर्ब ४० करोड रुपैयाँ छुट्याइएको छ भने ‘ख’ र ‘ग’ वर्गका विकास बैंक र फाइनान्स कम्पनीहरूका लागि क्रमशः २६ करोड २५ लाख र ८ करोड ७५ लाख रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, कुल एक अर्ब ७५ करोड मध्ये एक अर्ब ४० करोड हाल लगानीमा रही रहेको रकम र बाँकी ३५ करोड नयाँ लगानी रहेको समेत बैंकले जनाएको छ ।
लगानी लान चाहने बैंकहरुले कम्तिमा सञ्चालनको दुई वर्ष पुरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने र संस्थाको निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने बैंकको सर्त छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्