हुम्लामा ४६ प्रतिशत बालबालिकाले लगाए मोडर्ना खोपको पहिलो मात्रा

काठमाडौँ , १८ पुस । सात वटै गाउँपालिकाका छयासी प्रतिशत तोकिएका उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा लगाउने कार्य सम्पन्न भएको छ ।

सडक यातायात नपुगेका स्थानमा स्वास्थ्यकर्मीहरु पैदल हिँडेर दुरदराजका बस्तीमा सञ्चालन भएका खोप केन्द्रहरुमा उक्त खोप लगाउने कार्य भएको हो ।

नाम्खा गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाले एक वटा वडामा बाहेक बाँकी पाँच वटा वडामा ३३१ जना बालबालिकालाई मोडर्ना खोप लगाउने कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले यसका लागि स्वास्थ्यकर्मीहरु दुर्गमका बस्तीमा पुगेर खोप लगाउने कार्य गरिएको बताउनुभयो ।

स्वास्थ्य सेवा कार्यालयमा खोप सम्पर्क व्यक्ति मानबहादुर रोकायाले जिल्लाका सात वटै गाउँपालिकामा छयासी प्रतिशत बालबालिकाले खोप लगाउने कार्य पूरा भएको जनाकारी दिनुभयो । उहाँले बाँकी १४ प्रतिशतमा पनि केही मात्र छुटेको हुन सक्ने भएपनि अधिकांश बालबालिका जिल्ला बाहिर रहेको बताउनुभयो ।

खोप अभियानमा जिल्ला भर पाँच हजार ४६५ जना बालबालिकाहरुले खोप लगाउने कार्य भएको छ । जम्मा खोप लगाउने मध्ये बालक संख्या दुई हजार पाँच सय रहेको छ भने बालिका संख्या दुई हजार ९६५ जना रहेको छ ।

यसबाट बालक भन्दा खोप लगाउने संख्या बालिकाको रहेको छ । यसका लागि केन्द्रबाट जिल्लाका लागि ६३० भाईलबाट छ हजार ३७० मात्रा बालबालिकाका लागि लगाउन सकिने खोप जिल्लामा उपलब्ध भएको थियो । जिल्लामा आएको सबै खोप गाउँपालिकालाई वितरण गरिएको हो । यसका लागि ६१ वटा खोप केन्द्र सञ्चालन गरेर १८३ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको थियो ।

लिमी बाहेक सबै गाउँपालिकाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाएर ९०५ मात्रा अझै बचेको कार्यालयले जनाएको छ । यसबाट तत्काल छुटपुटका लागि पुनः खोप कार्य सुरु गरिने भएको छ । खोप अभियान सञ्चालन गर्ने निर्धारित मिति पुस ४ गतेबाट भए पनि खोप जिल्लामा ढिलो पुगेको कारण केही दिन ढिलो गरी खोप अभियान सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्