प्रचण्डको टिप्पणीपछि सेयरबजारमा झन् ठूलो पहिरो, ३ प्रतिशतले घट्यो

काठमाडौं, मंसिर २७ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार सेयरबजारको चर्को आलोचना गरेयता नेप्से झन् झन् ओरालो लागेको छ।आइतबार नै ८८ अंकको पहिरो गएको सेयरबजारमा आज सोमबार पनि सोही दृश्य देखिएको छ।

साताको दोस्रो कारोबार दिन आज दिउँसो १ः४२ बजेसम्म ७७.२७ अंकले नेप्से घटेको हो। योसँगै परिसूचक २२८३.९७ अंकमा आइपुगेको छ।

शनिबार प्रचण्डले सेयरबजारलाई साम्राज्यवादकै अर्को रुपको संज्ञा दिएका थिए। त्यसविरुद्ध लगानीकर्ताले प्रचण्डको चर्को आलोचना गरिरहेका छन्।यसै पनि गठबन्धन सरकार बनेयता सेयरबजारमा कारोबार रकम ३-४ अर्बको मात्रै भइरहेको छ।२१ अर्बसम्म दिनकै कारोबार गर्ने सेयरबजारको पुँजीकरण नै ५-६ खर्बले घटिसकेको छ।

मौद्रिक नीतिले मार्जिन लेन्डिङ अर्थात् सेयर धितो कर्जामा सीमा तोकिदिएपछि लगानीकर्ताले राष्ट्र बैंक र गभर्नरकै विरुद्ध आन्दोलन गरिरहेका थिए। पछिल्लो समय सेयरबजारमा सुधार नभएपछि अर्थमन्त्री जनार्दनविरुद्ध नै खनिइरहेका लगानीकर्ता प्रचण्डको अभिव्यक्तिपछि झनै आक्रोशित भएका छन्।

सोमबार दिउँसोसम्म २ अर्ब ८५ करोडको सेयर किनबेच भइरहेको छ। अहिलेसम्म नै बजार ३.२७ प्रतिशतले ओरालो लागिसकेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्