भट्टराई मुख्यमन्त्रीको दौडबाट रिङ आउट

काठमाडौं । नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री सचिव योगेश भट्टराई लगभग पक्का जस्तै देखिएको थियो ।

प्रदेशमा चुनाव लड्ने योजनाका साथ पार्टी नेतृत्वसँग परामर्श गरेर उनले आफ्नो मतदाता नामावली पनि काठमाडौंबाट ताप्लेजुङ सारे । तर, उम्मेदवारी सिफारिसम्म आइपुग्दा भट्टराई एकाएक मुख्यमन्त्रीको दौडबाट रिङ आउट भएका छन् ।

उनको नाम ताप्लेजुङ जिल्ला कमिटीबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ ।
स्रोतका अनुसार भट्टराईलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरी प्रदेश १ मा पठाउन एमाले नेतृत्व सकारात्मक भएको थियो तर, प्रदेश १ का प्रमुख भीम आचार्य र उपप्रमुख शेरधन राईले मुख्यमन्त्रीमा दाबी गरेपछि सचिव भट्टराई पछि हटेका हुन् ।

प्रदेश कमिटी बैठकमा भीम आचार्य र शेरधन राईले अनौपचारिक रुपमा मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गरेका छन् । ताप्लेजुङमै रहेका भट्टराईले पनि आफू मुख्यमन्त्रीको दौडबाट पछि हटेको समेत बताए । स्थायी कमिटीले निर्णय गर्ने भएकाले औपचारिक रुपमा उनको सम्भावना कायमै छ ।

पार्टी सचिव समेत रहेका भीम आचार्य सुनसरी क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् भने पोलिटव्यूरो सदस्य समेत रहेका शेरधन राई भोजपुरको प्रदेशसभा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्