भारतकी हरनाज कौर बनिन् ‘मिस युनिभर्स २०२१’
काठमाडौँ , २७ मंसिर । भारतकी हरनाथ कौर सन्धु ‘मिस युनिभर्स २०२१’ बन्न सफल भएकी छन् । उनी ७० औं मिस युनिभर्स बनेकी हुन् । सोमबार बिहान इजराइलको इलियटमा आयोजित कार्यक्रमकाबीच उनलाई मिस युनिभर्स घोषित गरिएको हो ।
भारतको पञ्जाबकी २१ वर्षीया हरनाजले पराग्वेकी नादिया फरेरा र दक्षिण अफ्रिकाकी ललेला मसवानेलाई हराउँदै मिस युनिभर्सको ताज जितेकी हुन् । सन् २०१७ मा हरनाजले ‘मिस चन्डीगढ’ जितेकी थिइन् । उनले अर्को वर्ष २०१८ मा ‘मिस म्याक्स इमर्जिङ इन्डिया २०१८’ पनि जितेकी थिइन् । उनले सन् २०१९ मा ‘मिस इन्डिया’मा पनि सहभागिता जनाएकी थिइन् । उनी सो प्रतियोगिताको टप १२ सम्म पुगेकी थिइन् ।
यसअघि सन् १९९४ मा भारतकी सुष्मिता सेनले पनि मिस युनिभर्सको ताज पहिरिएकी थिइन् । यसैगरी, सन् २००० मा लारा दत्ताले जितेकी थिइन् । नेपालबाट ‘मिस युनिभर्स २०२१’ मा ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत पनि सहभागी थिइन् ।
प्रतिक्रिया दिनुहोस्