शेयर बजार मंगलबार १.६४ अंकले मात्र घटेर बन्द
काठमाडौं, १४ मंसिर । नेपाली शेयर बजार दिनानुदीन घटे पनि मंगलबार १.६४ अंकले मात्र घटेर बन्द भएको छ । ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । यसबीचमा केही बाउन्स ब्याक भए पनि नेप्सेले त्यो उच्च विन्दुलाई भेटाउन भने सकेको छैन । यतिबेला बजारमा सेयर भाउ निकै सस्तो भएको छ । वाणिज्य बैंकहरुसहित सबै समूहका सेयरहरु करिब १ वर्षअघिको मूल्यमा आइसकेको छ ।
१३ मध्ये ६ वटा समूहको सूचक हरियो भएको छ । खरिदबिक्री रकमममा १६ करोड रुपैयाँभन्दा बढीसहित आइसीएफसी फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र हिमालयन डिष्टिलरी परेका छन् । शेयर बजार २६ सय विन्दु आसपासलाई टेस्ट गरेर फर्किएको छ । सूचक घट्दै २६०४ अंक नजिक आएपछि बाउन्स ब्याक भएको हो । त्यसपछि बजार केहीबेर हरियो समेत भएको थियो । त्यसो त बजार खुल्ने बित्तिकै पनि सूचक हरियो बनेको थियो । तर त्यो टिक्न सकेको थिएन । २६३० को तहबाट तलमाथि गर्ने क्रममा सूचक २६०४ विन्दु आसपाससम्म आएको हो । मंगलबार नेप्से कारोबार अवधिभर तलमाथि गर्नेक्रम जारी रह्यो ।
कम्पनीहरुको पीइ रेसियो हेर्दा पनि भाउ निरन्तर सस्तो हुँदै गएको देखिन्छ । लाभांशको सिजनमा निरन्तर बजार झरिरहेको छ । आम लगानीकर्ताको आत्मबल कमजोर बन्दा बजार झर्नेक्रम नरोकिएको हो । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव पनि बजार तल झर्ने कारण बनिरहेको छ । तर यो समस्या विस्तारै समाधान हुँदै जाने विश्लेषणहरु भइरहेका छन् । सरकारले विकास खर्च बढाउन सकेमा वित्तीय प्रणालीमा तरलता सहज हुँदै जानेछ ।
पछिल्ला दिनहरुमा बजार अलि अस्थिर देखिएकाले लगानीकर्ताहरुले आफ्रनै हिसाबले रणनीति तय गर्न आवश्यक हुन्छ । कहिले किन्ने अनि कहिले बेच्ने, कुन सेयर कति मूल्यमा किनबेच गर्ने भन्ने विषय नितान्त व्यक्तिगत विषय हुने भएकाले यसमा स्वतन्त्रपूर्वक निर्णय लिन आवश्यक हुन्छ । अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिका लागि किन्ने भन्ने यकिन हुन जरुरी छ । लगानी गरिएका कम्पनीको आधारभूत पक्षमा ख्याल गर्न भने भुल्नु हुँदैन ।
बजार बढ्दा होस् वा घट्दा लगानीकर्ताले कम्पनीहरुको बारेमा निरन्तर अध्ययन गर्नुपर्छ । लगानी गर्ने वा गरिएका कम्पनीको प्रमुख वित्तीय सूचक ख्याल गर्नुपर्छ । लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावना, भावी योजना पनि हेर्नुपर्छ । लगानी गर्दा जोखिम बहन क्षमतामा पनि ध्यान दिन बिर्सिन नहुने विश्लेषकहरु बताउँछन् । अहिले सेयर बजारको मुख्य सिजन चलिरहेको छ ।
सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा र साधारण सभा गरिरहेका छन् । यस्तो अवस्थामा आफ्नो जोखिम बहन क्षमता, रिस्क–रिवार्ड रेसियो लगायतका पक्षलाई ध्यान दिएर निर्णय लिनुपर्ने हुन्छ । यस दिन २२५ कम्पनीको ६४ लाख ४७ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्