क्रान्तिकारी धर्मगुरु नानकले सिख धर्मको स्थापनाको प्रेरणा कसरी पाए ?
काठमाडौँ , ३ मंसिर । आज (१९ नोभेम्बर २०२१) सिख धर्मका संस्थापक गुरु नानकको ५५१ औं जन्मजयन्ती हो । उनको जन्म कार्तिक पूर्णिमाको दिन भएको थियो ।
नानकले सिख धर्ममा हिन्दू र इस्लाम दुबैको राम्रा पक्ष समावेश गरे । यद्यपि, सिख धर्म हिन्दू र इस्लामको संकलन मात्रै होइन । गुरु नानक एक मौलिक आध्यात्मिक विचारक थिए । उनले आफ्नो विचारलाई कविता शैलीमा प्रस्तुत गरे । यही शैली सिखको धर्मग्रन्थ गुरुग्रन्थ साहिबको पनि हो ।
गुरु नानकको जीवनबारे धेरैलाई थाहा नहुन सक्छ । यद्यपि, सिख परम्परा र ‘जन्म सखी’मा उनीबारे धेरै जानकारी छन् । गुरु नानकको जन्म सन् १४६९ मा लाहोरभन्दा ६४ किलोमिटर टाढा थियो । सिख परम्परामा बताइए अनुसार नानकको जन्म र सुरुवाती वर्ष थुप्रै कारणले विशेष रहे । भगवानले नानकलाई केही भिन्न गर्नका लागि प्रेरित गरेको बताइन्छ ।
नानकको जन्म एक हिन्दु परिवारमा भएको थियो तर उनले निकै चाँडो इस्लामक र व्यापक रुपमा हिन्दु धर्मको अध्ययन सुरु गरे । यसकारण नानकमा बाल्यकालदेखि नै कवि र दर्शनको अद्भूत क्षमता विकसित भयो । गुरु नानकबारे एक चर्चित कहानी छ । उनी ११ वर्षको उमेरमा नै विद्रोही भएका थिए । यो उमेरमा हिन्दु किशोरले पवित्र जनै लगाउन सुरु गर्छन् तर गुरु नानकले यो लगाउन अस्वीकार गरेका थिए । मानिसहरुले जनै लगाउनुको साटो आफ्नो व्यक्तिगत गुण बढाउनुपर्ने उनले बताएका थिए ।
नानकले एक विद्रोही आध्यात्मिक लाइन बनाउन जारी राखे । उनले स्थानीय साधु र धर्मगुरुमाथि प्रश्न गर्न सुरु गरे । उनले हिन्दु र मुसलमानमाथि समान रुपमा प्रश्न गरिरहेका थिए । नानकको जोड आन्तरिक परिवर्तनमा थियो । उनलाई देखावटी मन पर्दैनथ्यो ।
गुरु नानकले केही समयका लागि लेखापालको रुपमा पनि काम गरेका थिए तर कम उमेरमा नै आफूलाई आध्यात्मिक विषयमा अध्ययनका लागि समर्पित गरे । नानक आध्यात्मिक अनुभवले असाध्यै प्रभावित थिए र उनी प्रकृतिमा नै ईश्वरको खोजी गर्ने गर्दथे ।
नानकका अनुसार चिन्तनमार्फत् नै अध्यात्मको पथमा बढ्न सकिन्छ । आफ्नो जीवनशैलीमार्फत् नै हरेक व्यक्ति आफूभित्रको ईश्वरलाई देख्न सक्ने उनको मान्यता थियो ।
सन् १४९६ मा नानकको विवाह भएको थियो । उनको एउटा परिवार पनि थियो । नानकले भारत, तिब्बत र अरबबाट आध्यात्मिक यात्राको सुरुवात गरे र यो यात्रा ३० वर्षसम्म चल्यो । यतिबेला नानकले असाध्यै अध्ययन गरे र पढे लेखेका व्यक्तिसँग बहस पनि गरे । यसै क्रममा नानकले सिख धर्मको बाटोलाई आकार दिए र राम्रो जीवनका लागि अध्यात्म स्थापित गरे ।
गुरु नानकले जीवनको अन्तिम समय पञ्जाबको करतापुरमा बिताए । उनले यही आफ्नो उपदेशमार्फत् भारी संख्यामा अनुयायीलाई आकर्षित गरे । गुरु नानकको सबैभन्दा महत्वपूर्ण सन्देश ‘ईश्वर एक हुन् र हरेक व्यक्ति ईश्वरसम्म सिधा पुग्न सक्छन्’ भन्ने रहेको छ।
उनका अनुसार यसका लागि कुनै रितिरिवाज, पुजारी वा धर्मगुरु चाहिँदैन । गुरु नानकले सबैभन्दा क्रान्तिकारी सुधार जाति व्यवस्थालाई समाप्त गरे । उनले जुनसुकै जाती वा लिङ्ग होस्, हरेक व्यक्ति एक हुन् भन्ने कुरालाई प्रमुखताले स्थापित गरे । जसले गर्दा आज उनि एक स्मरणीय व्यत्तिका रुपमा रहेका छन् ।











प्रतिक्रिया दिनुहोस्