डोटीका स्वास्थ्य संस्था १४ दिनदेखि ठप्प, बिरामीहरु उपचार नपाएर रित्तै फर्कन थाले

काठमाडौं । डोटीका स्वास्थ्य संस्था १४ दिनदेखि ठप्प रहेका छन् । आफूहरुमाथि कुटपीट भएको भन्दै सरकारी डाक्टरहरुले १४ दिनदेखि जिल्ला अस्पताल डोटीलगायतका स्वास्थ्य संस्था ठप्प पारेका छन् ।

फागुन ६ गते जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर जितेन्द्र सिंह माथि कुटपीट गरेको विरोधमा अस्पतालका मेडिकल सुपरिटेन्डेनसहित डाक्टरहरुले दोषीलाई कारवाही नभएसम्म काम गर्ने वातावरण नभएको भन्दै जिल्ला छाडेका थिए ।

जिल्लाका डाक्टरहरुलाई सरकारी चिकित्सक संघले असुरक्षाको कारण देखाउँदै जिल्ला छाड्न भन्दै काठमाण्डांै आउन निर्देशन दिइएको थियो । जिल्ला छोडेर गएका डाक्टरहरुलाई स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिरी गराइरहेको छ ।

डाक्टर नै नभएपछि डोटीमा उपचार सेवा १४ दिनदेखि ठप्प भएको छ । उपचारका लागि सयौं बिरामीहरु आउने डोटीमा अहिले उपचार नपाएर रित्तै फर्कन थालेका छन् । डाक्टरहरुको माग न्यायोचित भए पनि लामो समयसम्म उपचार कार्यमा नफर्केको प्रति भने जिल्लामा असन्तुष्टी बढ्दै गएको छ । जिल्लातहमा सर्वपक्षिय बैठकले काममा फर्कन डाक्टरहरुसँग अनुरोध गरे पनि उनीहरु फर्कन मानेका छैनन् ।

कुटपीटमा संलग्न भएको आरोपमा दिपायल सिलगढी नगरपालिका – ७ का हिक्मतसिंह विष्ट, बिजय विष्ट, टेकबहादुर विष्ट र दिपायल सिलगढी – ६ का अरुण महत प्रहरीको हिरासतमा छन् । उनीहरुमाथि सार्वजनिक अपराध मुद्दा चलाइएको प्रहरीले जनाएको छ । उनीहरुले डाक्टर जितेन्द्र सिंहलाई आक्रमण गरेको आरोप छ ।

जिल्ला अस्पताल डोटीमा १४ दिनदेखि आकस्मीक बाहेकका सबै सेवा ठप्प छन् । पोष्टमार्टम, ल्याव परिक्षण, भिडियो एक्सरे पनि नहु“दा सामान्य रोगका लागि बिरामीहरुले उपचारका लागि अन्यत्र जानु पर्ने भएको छ । डाक्टरहरुले सेवा ठप्प पारि जिल्ला छाडेपछि पोष्टमार्टमका लागि शव बोकेर डडेल्धुरा पठाउनु पर्ने बाध्यता रहेको जनस्वास्थ्य प्रमुख शतिष विष्टले बताए ।
डाक्टरको अभावमा जिल्लामा घटेका घटनाहरुको बारेमा अनुसन्धान गर्नसमेत समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्