राष्ट्रपति भण्डारीको पारिवारिक विवरण संकलनसँगै सुरु भयो जनगणना

काठमाडौँ , कार्तिक २५  – राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक विवरण संकलनसँगै राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । केन्द्रीय तथ्यांक विभागबाट गएको गणकको टोलीले राष्ट्रपति भण्डारीको परिवारिक विवरण संकलन गरेको थियो ।

जनगणनाका लागि तयार गरिएको प्रश्नावली राष्ट्रपति भण्डारीलाई सोधिएको थियो ।‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित सुरु भएको जनगणना २०७८ मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना सुरु भएको हो ।

राष्ट्रपति भण्डारीको परिवारिक विवरणपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणना भइरहेको छ । त्यसका साथै प्रमुख प्रतिपक्ष एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा जनगणना हुने विभागले जनाएको छ ।

जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ । ‘एक जना गणकले एउटा परिवारसँग औसत २० मिनेटमा प्रश्नावली सोध्नेछ,’ तथ्यांक विभागमा महानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘घरमूलीलाई जनगणनाको महत्त्व बुझाउनुपर्नेसमेत भएकाले कतिपय ठाउँमा ४० मिनेट पनि लाग्न सक्ला ।’ जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

जनगणनाका क्रममा प्रत्येक परिवारलाई ८० वटा प्रश्न सोधिँदै छ । यी प्रश्नलाई पहिलो चरणमा ‘घर तथा घरपरिवार सूचीकरण’ र दोस्रो मूल जनगणनामा ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ गरी तीन किसिमले विभाजन गरिएका छन् । पहिलो चरण ‘घर तथा घरपरिवार सूचीकरण’ भदौ ३० मा सुरु भएर असोज १८ मा सम्पन्न भइसकेको छ । गणकहरूले मुख्य प्रश्नावली लिएर प्रत्येक परिवारको मूलीसँग सोध्नेछन् ।

नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक १० वर्षमा जनगणना हुँदै आएको छ । २०२८ सालको सातौं जनगणनामा कम्प्युटर मेसिनबाट आँकडा प्रशोधन सुरु गरिएको थियो । जनगणना दुई प्रकारले गर्ने चलन छ । जो जहाँ भेटिन्छ, त्यहींबाट निजको गणना गर्ने विधिलाई ‘डिफ्याक्टो’ भनिन्छ । यसमा व्यक्तिले अक्सर बसोबास (६ महिनाभन्दा बढी समय रहने) गर्ने थलोबाट व्यक्ति तथा परिवारको गणना गरिन्छ । नेपालमा दोस्रो विधिबाट जनगणना गर्ने गरिएको छ । यसलाई रूपान्तरित विधि गणना (मोडिफाइड डेजुरे मेथड अफ काउन्टिङ) भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्