२० अर्ब रुपैयाँ सापटी दिँदै राष्ट्र बैंक

काठमाडौं , कात्तिक २४ . नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बजारको तरलता अभावको समस्या सम्बोधनका लागि भोलि कार्तिक २५ गतेदेखि १४ दिनका लागि सर्ट टाइम लोन जारी गर्न लागेको हो ।

कात्तिक २५ गते जारी हुने यस रिपो आगामी मंसिर ९ गते परिपक्‍व हुनेछ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रित पुर्याएर अनलाइनमार्फत नै रिपोका लागि आवेदन दिन सक्नेछन् । तर, सबैभन्दा बढी ब्याजदर अफर गर्नेबाट क्रमशः रिपो प्रदान गरिनेछ ।

केन्द्रीय बैंकले बजारमा तरलताको अभावमा रिपोमार्फत पैसा पठाउने गर्छ भने अधिक तरलताको अवस्थामा रिभर्स रिपो मार्फत पैसा उठाउने गर्छ । पछिल्लो समय बजारको तरलता अभावको समस्यालाई हल गर्न बैंकले रिपो मार्फत बजारमा पैसा पठाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्