५५ अंकले बढ्यो नेप्से परिसूचक, झण्डै आठ अर्बको कारोबार

काठमाडौं, कात्तिक १४ । हप्ताको पहिलो दिन आज (आइतबार)शेयर बजार परिसूचक नेप्से ५५ अंक भन्दा धेरैले बढेको छ । अघिल्लो हप्ताभर नै बढेको नेप्से यो हप्ताको पहिलो दिन आज ५५ दशमलव २५ अङ्कले बढेर दुई हजार आठ सय ३७ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ बाहेक सबै समूहको शेयर उकालो लागेको छ । आज व्यापार समूहको शेयर १८७ अङ्कले, होटलको १७३, विकास बैंकको ३३८, जलविद्युतको १६६, फाइनान्सको ९२ र माइक्रो फाइनान्स समूहको शेयर १४३ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर २३० अङ्कले, निर्जीवन बीमा समूहको ६०३ अङ्कले, उत्पादनको ३१९ र अन्य समूहको शेयर झण्डै तीन अङ्कले बढेको छ । आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । २३२ कम्पनीका एक करोड ३८ लाख कित्ता शेयर सात अर्ब ८२ करोड ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज चन्द्रागिरि हिल्स, सामुदायिक लघुवित्त, साहस ऊर्जालगायत आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एभरेस्ट बैंकको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्