धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुल्ला
काठमाडौं, कातिक १३ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज ९नेप्से० नेतृत्वको लागि आवदेन खुल्ला गरिएको छ। नेतृत्वविहिन बनेको करिब दुई महिनापछि सरकारले बोर्ड अध्यक्ष र सिइओ बन्नका लागि बाटो खुल्ला गरेको हो।
अर्थमन्त्रालयले बिहीबार नै यसबारे सूचना जारी गरिसकेको थियो। नेपाल स्टक एक्सचेन्ज पनि खाली रहेको अवस्थामा सिइओका लागि मन्त्रालयले तोकेको समितिले आवेदन खुल्ला गरेको हो। सरकारले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको नेतृत्वमा समित गठन गरेको छ। उक्त समितिले जारी गरेको सूचनाअनुसार १५ दिनभित्र आवेदन दिन सकिने छ। अब नियुक्ती हुने अध्यक्ष र सिइओको पद बाँकी अवधिका लागि मात्र हुने छ।
धितोपत्र बोर्डको ऐन–६३ अन्तर्गत बीचमा अध्यक्ष वा सदस्य पद रिक्त हुन गएमा बाँकी अवधिभरका लागि चयन गरिने उल्लेख गरिएको छ। तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना २०७६ साल पुस २३ गते नियुक्ति भएर २०७८ साल १९ असोजमा बर्खास्त भएका थिए। बुक विल्डिङ पक्रियामा अनियमितता गरेको भन्दै सरकारले उनलाई वर्खास्त गरेको हो। त्यस्तै सिइओ पनि सोही अनियमिततामा मुछिएका थिए। सरकारले वर्खास्त गरेपछि तत्कालीन सिइओ चन्द्रसिंह साउदले अनुसन्धान गर्न बाटो खुल्ला गरेको भन्दै राजीनामा दिएका थिए।
नेतृत्वमा दाबी गर्ने व्यक्ति धितोपत्र बोर्डको ऐन बमोजिम ३० वर्ष पुगी ६० वर्ष ननाघेको हुनपर्ने छ। साथै कुनै पनि फौजदारी अभियोग नलागेको र वित्तिय क्षेत्रमा कम्तिमा ७ वर्ष अनुभव हासिल गरेको हुनपर्ने छ। तर,कानुनमा कुनै राजनीतिक दलसम्बन्धी सदस्यता भएको व्यक्तिलाई अध्यक्ष नियुक्ति गर्न नसकिने व्यवस्था भए पनि पछिल्लो समय दलीय आधारमा भाग लिने परम्परा कायम रहेको छ।
प्रतिक्रिया दिनुहोस्