उत्पादनमुखी अर्थतन्त्र विना हामी आत्मनिर्भर हुन सक्दैनौँ : अर्थ मन्त्री शर्मा
काठमाडौं, कात्तिक १२ । अर्थ मन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योग धन्दा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
आज शुक्रवार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थ मन्त्री शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योग धन्दा सञ्चालन गर्नुपर्ने औंल्याएका हुन् ।
उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योग धन्दा र खेतीपातीलाई सरकारले प्रोत्साहन गरिरहेको पनि जनाकारी गराए । उनले हरेक क्षेत्रमा काम गर्नेहरूले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने उनको भनाइ रहेको छ ।
अर्थ मन्त्री शर्माले भने , ‘उत्पादनमुखी अर्थतन्त्र हुनुपर्छ, उत्पादनमा आधारित राजस्व हुनुपर्छ । मैले यसो भनिरहँदा केहीले त्यसको विरोध गरे, स्वदेशमा उद्योग धन्दा खोल्नु हुँदैन, बाहिरबाट किनेर बेच्ने हो भने खबरदार, देशको अर्थतन्त्र बलियो र वृद्धि गर्न स्वदेशमै उत्पादन गर्ने उद्योग धन्दा हुनुपर्छ, खेतीपाती चाहिन्छ, व्यवसायलाई प्राथमिकता दिनुपर्छ, उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्रै आत्मनिर्भर बन्न सकिन्छ । नेपालमै भएका कच्चा पदार्थ र बाहिरबाट कच्चा पदार्थ ल्याएर भए पनि उद्योग धन्दा स्वदेशमै खोलिनुपर्छ, त्यसका लागि सरकारले के सहयोग गर्नुपर्छ तयार छौँ ।’
साथै अर्थ मन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताउँदै पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताए । नागरिकको पसिनाबाट उठाइएको राजस्व नागरिककै लागि खर्च गर्ने पनि उनले बताए । उनले नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने पनि बताए ।
अर्थ मन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यापारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताए । उनले सरकारले काठमाण्डौ उपत्यकामा १२ वटा पार्क बनाउने योजना अघि सारेको पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्