महासंघको १८ औं हस्तकला ब्यापार मेला मंसिर ३ देखि हुने
काठमाडौं, कातिक ११ । नेपाल हस्तकला महासंघको १८ औं हस्तकला ब्यापार मेला यहि मंसिर ३ गतेदेखि सुरु हुने भएको छ । विगत वर्षहरुमा काठमाडौको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यसवर्ष काठमाडौं हायात रिजेन्सी होटलमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्यै बजारलाई पुनः चलायमान बनाउन यो मेलाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा महासंघले गरेको छ ।
उक्त मेलालाई नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, विभिन्न संघ/संस्थाहरुको पनि सहयोग रहेको छ । उक्त मेलामा हस्तकलामा लगायत विभिन्न वस्तुहरुको करिब १२० वटा स्टल रहने छ । मेलाको प्रमुख आर्कषणको रुपमा कला प्रतियोगिता अन्तर्गत नेच्यूरल फाईवर(प्राकृतिक रेसा) र फिलगिरी गरी २ वटा विधामा प्रतियोगिता हुने पत्रकार सम्मलेनमा जानकारी दियो । नेपाली हस्तकला लगायतका अन्य उत्पादित सामानहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन गर्नु मेलाको मुख्य उदेश्य रहेको महासंघले जनाएको छ । हस्तकलाका सामाग्रीहरुको प्रचार /प्रसार तथा उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन, नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यबसायिक सम्बन्ध बिकास गर्नु आजको आवश्यकता रहेको महासंघको बुझाइछ ।
१६ औं कला प्रतियोगिताका संयोजक राजमान बर्जाचार्यले हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उदेश्य रहेको बताए । अन्तरराष्ट्रिय बजारमा पहुच पुग्न नसक्ने घरेलु लघु एवं साना उद्यमी ब्यबसायीले बिदेशी आयातकर्ताहरुसंग ब्यबसायिक सम्बन्ध स्थापित गर्न थप टेवा पुग्ने उनले बताए । साथै प्रत्येक वर्ष ब्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्ने अवसर भएको पनि उल्लेख गरे । त्यस्तै ७० वर्ष नाघेका जेष्ठ कलाकारहरुलाई तथा हस्तकला वस्तुहरु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्ताहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको मेला संयोजक बर्जाचार्यले जानकारी दिए ।
विदेशी हस्तकला आयातकर्ता/ उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तरराष्ट्रियस्तरको ब्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रबाह गर्नु यो मेलाको मुख्य उद्देश्य रहेको महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताए । त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी ब्यबसायीलाई बजार पहँुचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्वन्धलाई जनमानसमा उजागर गर्नु पनि रहेको उनको भनाइ छ ।
अध्यक्ष शाक्यले बताएमेला अवलोकनका लागि नेपालस्थित विभिन्न मुलुकका कुटनीतिक नियोगका प्रमुखहरु तथा पदाधिकारीको सहभागीता रहने पनि उनले बताए । उनले देशको आर्थिक विकासमा हस्तकलाको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै यसको प्रवद्र्धनका निम्ति तिनै तहका सरकारको सहयोग आवश्यक रहेको बताए । कोभिडको महामारीमा पनि हस्तकलाको निर्यात सन्तोषजनक भएको बताए । मेला परम्परागत र मौलिकशैलीका सामाग्रीहरुको उत्पादन तथा कलाहस्तान्तरण आजको मुख्य चुनौती रहेको बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष प्रचण्डमान शाक्यले मेलाबाट अन्तरराष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु लघु एवं साना उद्यमी ब्यबसायीले बिदेशी आयातकर्ताहरुसंग ब्यबसायिक सम्बन्ध स्थापित गर्न सक्ने बताए । त्यस्तै प्रत्येक वर्ष ब्यापार मेलाको आयोजना हुँदा उत्पादकले निकासीजन्य नौलो बस्तुको उत्पादन गर्ने,हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिवारे जानकारी आदान प्रदान हुने बताउँदै स्वदेशमै रोजगारी अभिबृद्धि हुने उनले बताए ।
एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री,उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत सास्कृतिक सम्पदाको उजागर, क्राफ्ट, कम्पीटिसन, जेष्ठ कलाकारहरुलाई सम्मान, उत्कृष्ट निकासीकताहरुलाई सम्मान लगायत मेलाका आकर्षण रहेको छ । मंसिर ३ देखि ५ गतेसम्म जारी रहने मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्