यस वर्षको महामूर्खको उपाधि साहित्यकार वृषेशचन्द्र लाललाई

काठमाडौं । साहित्यकार एवं राजनीतिकर्मी वृषेशचन्द्र लाललाई यस वर्षको महामूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिला नाट्य कला परिषद्ले बिहीबार जानकी मन्दिर परिसरमा आयोजित महामूर्ख सम्मेलनमा उहाँलाई सो उपाधि प्रदान गरेको हो । लाल हाल राष्ट्रियसभा सदस्य पनि हुनुहुन्छ ।

होरी उत्सवका सन्दर्भमा परिषद्ले विगत २२ वर्षदेखि भाषा, साहित्य, कला र संस्कृतिकर्मी, लेखक, राजनीतिकर्मी, विश्लेषक, समाजसेवी, निर्माण व्यवसायीलाई यो उपाधि प्रदान गर्दै आएको छ ।

त्यस्तै परिषद्ले १५ जनालाई पटमूर्ख उपाधिअन्तर्गत विभिन्न मानपदवी पनि प्रदान गरेको छ । पटमूर्खको उपाधि पाउनेमा राष्ट्रियसभा सदस्य मुक्ता यादव, प्रदेशसभासदस्य रामअशिष यादव, परमेश्वर साह र प्रमिलादेवी दास रहनुभएको छ ।

राजनीतिकर्मी हरिप्रसाद मण्डल, रामज्ञान मण्डल, रेणु झा र रीता झा, उद्योग वाणिज्य संघका अध्यक्ष लालित साह र निर्माण व्यवसायी हीरा भगतलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

त्यस्तै पटमूर्खको उपाधि पाउनेमा पत्रकार महेश दास, कवि बृजमोहन झा र भाषा, साहित्य एवं राजनीति अभियानी जीवनाथ चौधरी हुनुहुन्छ । तराई क्षेत्रमा शक्रबार होली पर्व मनाइदैछ ।

– रासस

प्रतिक्रिया दिनुहोस्