सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत आपूर्ति सूचारु

काठमाडौं, कात्तिक ४ । अविरल वर्षापछि सेवा अवरुद्ध भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।

तीन दिनको वर्षाले विभिन्न स्थानमा रुख ढल्दा भएको अवरोधलाई हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने अधिकांश भागमा विद्युत आपूर्ति सूचारु भएको छ ।

तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन तथा विजुली सेवा अवरुद्ध भएको थियो ।

बाढी पहिरोको सूचना समयमै नपाउँदा पीडितलाई उद्धार गर्न सकिएको थिएन । समयमै उद्धार गर्न नसक्दा थप जनधनको क्षति व्यहोर्न परेको स्थानीय प्रशासनले जनाएको छ ।

तर, अवरोधलाई हटाएर विजुली तथा टेलिफोन सेवा सूचारु भएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्