काँग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ, असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकार विस्तार गर्ने तयारी गरेका छन् । यसैक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सरकार विस्तार बारे छलफल गरेका छन् ।

काँग्रेसबाट अहिलेसम्म बालकृष्ण खाण गृहमन्त्री, डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइसकेका छन् ।

अब काँग्रेसबाट यस अघि देउवा पक्षबाट मन्त्री बनेका हुनाले आजको सरकार विस्तारमा पौडेल र सिटौला पक्षलाई समेट्ने बताइएको छ । प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई २ र् सिटौला पक्षलाई एक मन्त्री दिने बताएका छन् । जसमा पौडेल पक्षलाई रक्षा र सिटौला पक्षलाई युवा तथा खेलकुद मन्त्रालय दिने भएको बताइएको छ ।

पौडेल पक्षले दिलेन्द्र बडू र डा। मिनेन्द्र रिजाललाई मन्त्री बनाउने लगभग तय भएको छ । यद्यपी पौडेल पक्षमा मन्त्री बन्ने आकांक्षी बढी भएपछि अन्तिम समयमा नाम परिवर्तन हुनसक्ने पनि बताइएको छ ।

त्यस्तै सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् । सिटौला पक्षबाट भीमसेनदास प्रधान पनि मन्त्री बन्ने दौडमा रहेको बताइएको छ ।

त्यस्तै देउवाले भने अहिले कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सूचना तथा सञ्चारमन्त्री बनाउने तयारीमा छन् । त्यस्तै देउवाले आफु पक्षकी नेतृ उमा रेग्मीलाई महिला बालबालिका मन्त्री बनाउने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्