नेप्सेमा हरियाली, ६८ अंकले बढ्दा ४ अर्ब ५० करोड भन्दा बढी सेयर कारोबार

काठमाडौं, असोज २० । हिजो ४१ अंकले बढेको शेयरबजार आज पनि बढेको छ । शेयरबजार परिसूचक नेप्से आज ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६ सय ८१ दशमलव १० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । विकास बैँक, फाइनान्स, जलविद्युत्, उत्पादन र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ ।

दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबै कम्पनीको शेयर बढेको छ । आज १३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

समग्र बजार बढेपनि रिडी हाइड्रोपावर कम्पनीको शेयर दुई प्रतिशतले घटेको छ । आज कारोबार रकममा पनि सुधार आएको छ ।

८१ लाख ८९ हजार कित्ता शेयर चार अर्ब ५० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन्स् बैंकको २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्