लाभांश घोषणा गर्दै बैंकहरु, एक दर्जन बैंकले स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाए

काठमाडौं, असोज १३ । बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । चार वटा बैंकले लाभांश घोषणा गरेका छन् भने एक दर्जन बैंकले लाभांश घोषणाको तयारीमा रहेका छन् ।

त्यसको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएका छन् । माछापुछ्रे, सिटिजन्स इन्टरनेश्नल, सानिमा र कुमारी बैंकले लाभांश घोषणा गरेका छन् । यी माछापुछ्रेले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश सहित १४ प्रतिशत, सिटिजन्सले १२.९१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.०८ प्रतिशत नगद सहित १६ प्रतिशत, सानिमाले १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद सहित १७.८९ प्रतिशत, कुमारी बैंकले ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद सहित ८.६७ प्रतिशत लाभांश घोषणा गरेका छन्।

त्यस्तै एनआईसी एसिया, बैंक अफ काठमान्डू, नबिल, हिमालयन, नेपाल बंगलादेश, नेपाल बैक, सिद्दार्थ बैंक, लक्ष्मी बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका ११ बाणिज्य बैंकले लाभांश घोषणा गर्नका लागि पुर्व स्वीकृतिका लागि राष्ट्र बैंकमा विवरण पठाएका छन् । सम्भवतः यी मध्येका केहि बैंकले आज भोलि गत आर्थिक बर्षको लाभांश बारे सर्वसाधरणलाई जानकारी दिनेछन् ।

एनआईसी एसियाले १६ प्रतिशत नबढ्ने गरि, बैंक अफ काठमान्डूले १४ प्रतिशत नकाट्ने गरि, हिमालयन बैंकले २० प्रतिशत ननाघ्ने गरि, नबिल बैंकले ३० प्रतिशत नकाट्ने गरि, नेपाल बंगलादेश बैंकले १३ प्रतिशत ननाघ्ने गरि राष्ट्र बैंकमा स्वीकृतिका लागि विवरण पठाएका छन् ।

गत आर्थिक बर्षको कमाईबाट दिन सक्ने लाभांशको एउटा दर राखेर बैंकहरुले पुर्व स्वीकृतिका लागि राष्ट्र बैंक विवरण पठाउने गर्दछन् । राष्ट्र बैकले सैदान्तिक सहमति दिएपश्चात यी बैंकको संचालक समितिले बैठक डाकेर गत आर्थिक बर्षको लाभांशबारे निर्णय लिन्छन्। यसरी निर्णय लिईसके पश्चात उक्त जानकारी नेपाल स्टक नेप्से मार्फत सर्वसाधारणलाई जानकारी दिइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्