ललितपुरका ६ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले ललितपुरका ६ वटै सथानीय तहमा पार्टी नेतृत्व चयन गरेको छ । १४ औं महाधिवेशन अन्तर्गत ललितपुरका स्थानीय तहमा कांग्रेसले अधिवेशसन सम्पन्न गरेको हो ।

ललितपुरका ६ मध्ये ३ वटा स्थानीय तहमा सर्वसम्मत र ३ वटामा भने निर्वाचनको माध्यमबाट नयाँ कार्यसमिति चयन गरिएको कांग्रेसले जनाएको छ । गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।

गोदावरी नगरपालिकाको सभापतिमा प्रदीप जोशी चयन भएका छन् । त्यसैगरी बागमती गाउँपालिकामा वीरबहादुर लोप्चन र महांकाल गाँउपालिकामा खोमप्रसाद दाहाल सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका कांग्रेसले जनाएको छ । उनीहरु तीनै जना संस्थापन पक्षका हुन् ।

त्यसैगरी ललितपुरको कोञ्जोस्योम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा मतदान प्रक्रियाबाट पार्टीको नयाँ नेतृत्व चयन गरिएको कांग्रेसले जनाएको छ । ललितपुर महानगरपालिकामा २ सय ८२ मतसहित सुभानन ध्वाख्वा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी गणेशभक्त श्रेष्ठले २ सय २१ प्राप्त गरेका छन् ।

महालक्ष्मी नगरपालिकामा दिवाकर सिलवाल सभापतिमा विजयी भएका छन् । उनले ८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी सुशील खड्काले ८० मत प्राप्त गरेका छन् । कोन्ज्योसोम गाउँपालिकामा ४५ मतसहित सरोज घलान सभापति पदमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवन बलले ३७ मत प्राप्त गरेका कांग्रेस ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्