कांग्रेसले सार्वजनिक गर्‍यो थप पाँच जिल्लाको क्रियाशील सदस्यता

काठमाडौं, असोज १० । सत्तारुढ नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप पाँच जिल्लाको क्रियाशील सदस्य सूची सार्वजनिक गरेको छ ।

महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाका क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बाँकी आठ जिल्लाको क्रियाशील सदस्यको नामावली सोमबारसम्म सार्वजनिक गरिने उनले बताएका छन् ।

कांग्रेसमा करिब नौ लाख क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता पनि हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छान्ने अधिकार पाउँछन् । कांग्रेसले यसपहिले ६४ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । ती जिल्लामा वडा अधिवेशन पनि भएका छन् ।

वडा अधिवेशन भइसकेका ५५ जिल्लामा शनिबारदेखि गाउँ–नगर अधिवेशन थालिएको केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले बताए । केही जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर दशैंअघि नै सबै पालिका अधिवेशन गर्ने निर्णय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्