अर्थमन्त्री शर्माको स्पष्टिकरण: सेनिटरी प्याडमा भन्सार महशुल बढाइएको छैन
काठमाडौं, असोज १० । अर्थमन्त्री जनार्दन शर्माले सेनटरी प्याडमा भन्सार शुल्क नबढाएको दावी गरेका छन् । सेनटरी प्याडमा भन्सार शुल्क बढाइएको भन्दै सरकारको चर्को आलोचना भएसँगै अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिएका छन् ।
अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत् भन्सार महशुल नबढाइएको स्पष्ट पारे । उनले सेनिटरी प्याडको आयातमा आर्थिक वर्ष २०६९/०७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल यथावत राखिएको बताए । उनले वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध समेत गरे ।
उनले प्रतिस्थापन विधेयकमार्फत् सेनिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको जानकारी दिए ।
“स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो । यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौं” उनले भने । सेनिटरी प्याडमा भन्सार महशुल बढाइएको भन्दै अहिले चर्को आलोचना सरकारले खेपिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्