मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक

काठमाडौं, असोज ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बुधबार आफू निकटकै नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । खड्कासँगै मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । ती सबै देउवा निकटका हुन् ।

आफ्नो समूहबाट मन्त्री नबनाएपछि पौडेल समूह असन्तुष्ट बनेको एक नेताले जानकारी दिए । सोही विषयमा छलफल गर्न पौडेल समूहका नेताहरु महामन्त्री डा। शशांक कोइरालाको घरमा बैठकका लागि उपस्थित भएका छन् । डा। कोइरालाका स्वकीय सचिब भरत तिवारीले नेताहरु आउनेक्रम जारी रहेको बताए ।

यता सभापति देउवाले बुधबारै पादाधिकारी बैठकसमेत बोलाएका छन् । बुढानिलकण्ठमा दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ । सो बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय लिनेछ । सो विषयमा रणनीति बनाउन पनि पौडेल समूहको बैठक बस्न लागेको हो ।

यही असोज ५ गते भित्र सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसक्ने कार्यतालिका भए पनि अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । वडा अधिवेशन नहुँदा यही असोज ९ गते देशभर एकसाथ गर्ने भनिएको स्थानीय तहको अधिवेशन प्रभावित हुने भएको छ । सोही विषयमा निर्णय लिन सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्