प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित हुनासाथ सरकारले बजेट खर्च गर्न पाउँछ ?

काठमाडौँ , ४ असोज । प्रतिपक्षी दल नेकपा एमाले को अवरोधबीच प्रतिनिधिसभाबाट बजेट प्रतिस्थापन विधेयक पारित भएको छ ।

यो सँगै नेपालले बेहोरेको दुई दिने ‘गभर्मेन्ट सटडाउन’ केही दिनभित्रै टुङ्गिने आधार बनेको छ । तर, प्रतिनिधिसभाबाट प्रतिस्थापन विधेयक पारित भए पनि सरकारले बजेट खर्च गर्न पाउने बाटो खुलिसकेको भने छैन । पारित भएको यो विधेयकलाई अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्छ ।

राष्ट्रिय सभाले विधेयक पारित गरेर फेरि प्रतिनिधिसभामा पठाउनेछ । राष्ट्रियसभाबाट पारित भएर आएको विधेयक प्रतिनिधिसभाका सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउनुपर्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै सरकारले ढुकुटी अर्थात् संघीय सञ्चित कोषबाट रकम झिक्न पाउनेछ ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको र वर्तमान सरकारले समयमै बजेट प्रतिस्थापन विधेयक पारित गराउन नसक्दा अहिले राज्य खर्च गर्न नपाउने अवस्थामा छ । संवैधानिक अङ्ग तथा निकायहरू संघीय सञ्चित कोषमाथि हुने व्ययभार बाहेक नेपालमा अन्य खर्च रोकिएको छ ।

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको थियो । वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्