स्थानीयले बञ्चरेडाँडामा फोहोर फाल्न नदिने, पाँच माग पूरा हुनैपर्ने अडान
काठमाडौं, असोज २ । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
सरकारी निकायले बञ्चरे डाँडामा फोहोर बिसर्जन सुरु गरे पनि स्थानीयले भने आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै आपत्ति जनाएका हुन् । स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीय एकजुट हुने बताए ।
उनले सरकार र त्यहाँका स्थानीयहरुबीच स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरुको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनु पर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, कोल्पुखोला न्यूनिकरण गर्नुपर्नेलगायतका माग पूरा नहुन्जेल बञ्चरेडाँडामा फोहोर झार्न नदिने बताए ।
उप्रेतीले भने, ‘यो सबैको समस्या हो, काठमाडौं हामीले पनि सफा गर्नुपर्छ, हामी पनि सभ्य नागरिक बन्नुपर्छ, हामी प्रभावित क्षेत्रका जनताको ५ वटा माग पूरा गरेपछि मात्रै फोहोर खस्न दिन्छौं ।’ अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाए । तत्काल असर नगरे पनि पछि गएर स्थानीयहरुलाई धेरै असहज परिस्थिति सिर्जना हुने उनले बताए ।
सहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल्ड साइटका सुपरभाइजर ध्रुवप्रसाद धिमालले फोहोर फाल्नको लागि सेल वान र सेल टू भन्ने दुइटा स्थान रहेको भन्दै सेल वान मात्र तयार भएको बताए । उनले फोहोर खसाल्नलाई तयारी भइसकेको र नगरपालिकालाई यसबारे जानकारी दिइसकेकोले फोहोर फाल्न मिल्ने बताए ।
सरकारले काठमाडौंको फाहोर अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहे पनि त्यहाँ राख्ने स्थान नहुँदा बञ्चरेडाँडालाई बिसर्जनको गन्तव्य बनाएको छ । तर, आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । स्थानीयले आफूसँग भएका ५ बुँदे सहमति कार्यान्वयन गरेमात्र बञ्चरेडाँडामा फोहोर फाल्न दिने नत्र विरोध जारी राख्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्