सामलिङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, यसरी दिन सकिन्छ आवेदन
काठमाडौँ ,१ असोज । सामलिङ हाइड्रो पावर कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म स्थानीय बासिन्दा इलामेलीलाई खुल्ला गरेको कुल ५ लाख कित्ता आइपीओको म्याद आज सकिन लागेको हो ।
कुल ५ लाख कित्तामध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४० प्रतिशत अर्थात २ लाख कित्ता सेयर छुट्याएर बाँकी रहेको ६० प्रतिशत अर्थात ३ लाख कित्ता सेयर कम्पनीले जिल्लाभरका लगानीकर्ताहरुलाई छुट्याइएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ दरका आइपीओमा स्थानीयबासीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ तर, आईपीओ निष्काशनको अन्तिम दिन आज रहेकाले इच्छुक लगानीकर्ताहरूले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यसको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, प्रति मेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्