उत्पादनमूलक क्षेत्रमा लगानी गर्न कर्मचारी सञ्चयकोषलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ , भदौ ३१ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छन् ।

कोषको ६० औँ वार्षिकोत्सव समारोहको भर्चुअल उद्घाटन गर्दै उनले सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने सुझाएका हुन् ।

उत्पादनशील क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्दै व्यापार घाटा कम गर्न सहयोग गर्ने अर्थमन्त्री शर्माको भनाइ छ । उनले भने,‘ सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ, उत्पादनशील क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्दै व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’

आर्थिक वर्ष २०७७’७८ सम्म सञ्चयकोषको कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चयकोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तिभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ ।

सञ्चयकोषको स्थापना विसं। २०१९ साल भदौ १९ गते भएको थियो । त्यसअघि विसं। १९९१ मा सैनिक द्रव्य कोष, विसं। २००१ मा निजामती प्रोभिडेण्ट फण्ड र विसं। २०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कारबाही सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्