पाँच–सात दिन सरकारी खर्च रोकिन सक्छ : अर्थमन्त्री शर्मा
काठमाडौं, २९ भदौं । प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुङ्गो लगाउन नसकेका कारण बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ ।
अब सरकारले कर मात्र उठाउन सक्छ खर्च गर्न सक्दैन ।
यसअघि ल्याएको बजेट अध्यादेश संसद चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने प्रावधान छ । ६० दिनको समय बुधबार सकिँदैछ । प्रतिनिधिसभा अवरोधपछि मंगलबार विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित गरेर बैठक असोज ४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा ५–७ दिन सरकारी खर्च रोकिन सक्ने जानकारी दिए । प्रतिस्थापन विधेयक मंगलबार रातिसम्म पारित हुँदा खर्च गर्न उत्पन्न हुने समस्याको विषयमा सोधिएको प्रश्नमा सरकारी खर्च ५–७ दिन रोकिँदा फरक नपर्ने उनले बताए ।
‘सहमति भए सहमतिअनुसार पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रह्यो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ । वार्ता संवादबाट कोशिस चलिरहेको छ,’ शर्माले भने, ‘कर उठाउने विशेष व्यवस्था छ । त्यसैअनुसार कर उठ्छ । केही समयका लागि ५–७ दिन रोकिन पनि सक्छ ।’ उनले रोकिँदा पनि त्यसले असर नपर्ने बताए । अर्थमन्त्रीले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचारधीन छ ।
प्रतिक्रिया दिनुहोस्