बैङ्कमा पैसा रित्तिँदै, तरलता अभाव देखाएर ब्याजदर बढाउने दाउ
काठमाडौँ , २३ भदौ । बैङ्कहरूले तरलता अभाव देखाएर कर्जाको ब्याजदर बढाउने दाउ छोप्न लागेको अवस्था देखिन थालेको छ । पछिल्लो समय बैङ्किङ कारोबारमा निक्षेप सङ्कलन दर ह्वात्तै घटेर गएको, तर कर्जाको माग बढ्दै गएकाले बजारमा लगानीयोग्य रकम तरलता अभाव हुने सङ्केत देखिएको भन्दै बैङ्कहरूले ब्याजदर बढाउने सङ्केत गरेका हुन् ।
बैङ्क तथा वित्तीय संस्थाहरूले पछिल्लो समय जारी गरेका बैङ्किङ कारोबारको मासिक तथा साप्ताहिक प्रतिवेदनहरूमा समेत तरलता अभाव देखाएका छन् । गत सोमबारमात्र वाणिज्य बैङ्क मुलुकभर पूर्ण बैङ्किङ कारोबार गर्ने गरी इजाजतप्राप्त गरेका ‘क’ वर्गका वित्तीय संस्थाहरूले जारी गरेको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा अधिकतम ७८ प्रतिशत निक्षेप सङ्कलन घटेको छ ।
साउनमा कुल ४ खर्ब १२ अर्ब ३ करोड रुपैयाँमात्र निक्षेप सङ्कलन हुन सकेको बैंकर्स सङ्घले जनाएको छ । जब कि अघिल्लो असारमा बैङ्कहरूमा २१० प्रतिशत निक्षेप वृद्धि भएको थियो ।
भदौ महिनाको तेस्रो सातासम्म बैङ्कहरूले मुस्किलले १ खर्ब २३ अर्ब ७१ करोड रुपैयाँमात्र निक्षेप सङ्कलन गर्न सकेकोमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी भएको बैंकर्स सङ्घले जनाएको छ ।
निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी तथा कर्जा माग बढ्दा बजारमा तरलता अभाव सृजना हुने देखिएको र अन्ततोगत्वा यसले कर्जा ब्याजदर प्रभाव पार्ने बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालले बताए ।
‘बैङ्कहरूसँग निक्षेप सङ्कलन घटेको छ, तर कर्जाको मागमा कमी आएको छैन, बरु बढ्ने देखिन्छ । यसले बजारमा तरलता अभाव देखिने सङ्केत गरेको छ,’ दाहालले भने, ‘यसले बैङ्कहरूको ब्याजदरमा प्रभाव पार्ने खतरा बढेर गएको छ । तर,अहिले नै बजारमा तरलता अभाव भने भइसकेको छैन । बैङ्कहरूले कर्जा प्रवाह निरन्तर गरिरहेका छन् । भोलिका दिनमा पनि समस्या नआओस् भन्ने हाम्रो चाहना हो,’ दाहालले भने ।
यस्तै रिपोर्ट विकास बैङ्कहरूको पनि छ । पछिल्लो हप्ता ०.४० प्रतिशतले विकास बैङ्कहरूको निक्षेप वृद्धि हुँदा अधिकतम ०.३ प्रतिशतले कर्जामा वृद्धि भएको डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले जनाएको छ ।
एसोसिएसनका अनुसार भाद्र महिनाको दोस्रो हप्ता अधिकतम ४१ अर्ब ४७ करोड १७ लाख निक्षेप सङ्कलन र ३६ अर्ब २५ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी भएको छ । विकास बैङ्कहरूले तेस्रो हप्ता भाद्र २१ गतेसम्म कुल ४१ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दा ३६ अर्ब ५९ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यद्यपि, यो राष्ट्रिय स्तरका विकास बैङ्कहरूको मात्र तथ्याङ्क हो ।
अन्य क्षेत्रगत विकास बैङ्कहरूको भने सोही अवधिमा ०.३५ प्रतिशतले निक्षेप घटेर ०.५४ प्रतिशतले कर्जा लगानी बढेको एसोसिएसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्