दसैँसम्ममा ३३ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप लागाइदैँ

काठमाडौँ , २१ भदौ । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेल एक साताभित्र ४४ लाख मात्रा आउने निश्चित भएको छ ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग नन डिस्क्लोजर सम्झौतामार्फत खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये ४४ लाख मात्रा खोप आउन लागेको स्वास्थ्य महाशाखा अन्तर्गत परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालले जानकारी दिए ।

नेपालले अहिलेसम्म अनुदान सहयोग, खरिद र कोभ्याक्स सुविधामार्फत करिब १ करोड ३३ लाख खोप प्राप्त गरिसकेको छ ।

सरकारले आउँदो दसैँसम्म ३३ प्रतिशत जनतालाई पूर्ण रुपमा खोप लगाइसक्ने योजना बनाएको छ । अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दसैँसम्म त्यो संख्या दुई करोड पाँच लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताए ।

हालसम्म १६.३१ प्रतिशत नागरिक अर्थात् ४८ लाख ९५ हजार १५१ जनालाई खोपको पूर्ण मात्रा दिइएको छ । खोपको पूर्ण मात्राका लागि दुई डोज लगाउनुपर्ने अवस्थामा उनीहरुले ९७ लाख ९० हजार ३०२ डोज खोप लगाएका छन् ।

हालसम्म पहिलो मात्रा ५५ लाख ३३ हजार ७९४ जनाले लगाएका छन् । त्यसमध्ये ४८ लाख ९५ हजार १५२ जनाले पूर्ण खोप लगाएका छन् । यस आधारमा अझै ६ लाख ३८ हजार ६४३ जनाले दोस्रो मात्राको खोप लगाउन बाँकी देखिन्छ ।

तर, जोनसन एण्ड जोनसोन खोपको एकमात्रै मात्रा लगाए पनि हुने हुँदा खोप दोस्रो मात्रा लगाउनुपर्ने नागरिकको सङ्ख्या योभन्दा बढी हुन सक्छ । हालसम्म १५ लाख डोज जोनसनको खोप आएको थियो जसमध्ये करिब १३ लाख डोज खोप प्रयोगमा आइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्