गभर्नर अधिकारीसँग शेयर लगानीकर्ता रुष्ट, मागे राजीनामा
काठमाडौं , भदौ २० । शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।
आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाएको भन्दै उनीहरुले राजीनमा मागेका हुन् । यसका साथै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै उनीहरु रुष्ट पनि बनेका छन् ।
राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन । करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन अब सक्नुहुनेछ ।
यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ । यसैबीच बजारमा निकै ठूलो नकरात्मक असर पार्ने निर्णय गरेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संर्घष समिति नै गठन गरेको छ ।
यो समितिले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनु पर्ने माग अघि सारेको छ । १६ बुँदे मागको पहिलो नम्बरमा नै संघर्ष समितिले गभर्नरका कारण जनताको लगानी जोखिममा परेको बताएका छन् ।
यता साताको पहिलो दिन शेयर बजारमा पहिरो नै गएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आइतबार पनि गिरावट नै देखेको छ ।
मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साह भएका छन् ।
प्रतिक्रिया दिनुहोस्