नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौं । नेपाली काँग्रेसको बालुवाटारमा शुक्रबार बिहानबाट केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानबाट सुरु भएको बैठकमा बाम गठबन्धनलाई आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा परास्त गर्ने रणनीति तय गर्ने नेताहरुले बताएका छन् । त्यस्तै बैठकमा लोकतान्त्रिक गठबन्धन निर्माणपछि देखिएका चुनौतिबारे पनि छलफल हुने बताइएको छ ।

कांग्रेस कार्यसम्पादन समिति बैठकमा नेताहरुले राखेका विभिन्न प्रस्तावबारे पनि छलफल गर्ने बताइएको छ । कार्यसम्पादन समिति बैठकमा नेता नेताहरुले सरकारमा सहभागि माओवादीका मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव गरेका थिए । यस्तै कांग्रेसको यो बैठकले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनौटका निश्चित मापदण्ड र विधिबारे छलफलपछि निर्णय गर्ने बताइएको छ ।

खासगरी स्थानीय तहमा उम्मेद्वार भएकालाई प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बनाउने या नबनाउने भन्नेमा आजको बैठकमा छलफल केन्द्रीत हुने स्रोतले जनाकारी दियो ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवार तय गर्दा गुटका आधारमा नभएर चुनाव जित्न सक्नेलाई उम्मेद्धार बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्