रुघाखोकीका बिरामी बढ्न थाले , कोभिड संक्रमण कि मौसमी भाइरल ?

काठमाडौं , भदौ १७ । केही समययता काठमाडौं उपत्यकासहितका शहरहरूमा मौसमी रुघाखोकीका बिरामी बढ्न थालेका छन् । कोभिड–१९ संक्रमणसँग मिल्दोजुल्दो लक्षणसहित अस्पताल आउनेको संख्या बढेको विभिन्न अस्पतालको तथ्यांकले देखाएको छ ।

मौसम परिवर्तनको समय भएकाले भाइरल इन्फ्लुएन्जाका ‘केस’हरू बढेको बताइन्छ । देशका अधिकांश भागहरूमा अहिले भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताए ।
इन्फ्लुएन्जाका अधिकांश लक्षणहरू कोभिड–१९ संक्रमणसँग मिल्दोजुल्दो हुने भएकाले यी दुई संक्रमण छुट्ट्याउन परीक्षण नै गर्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देकशक डा। रुना झा बताउँछिन् ।

कसरी चिन्ने कोभिड संक्रमण र भाइरल रुघाखोकी ?

भाइरल रुघाखोकी ३० भन्दा बढी कारणले देखिन सक्ने विशेषज्ञहरू बताउँछन् । अहिले नेपालमा देखिइरहेको रुघाखोकी र ज्वरोको मुख्य कारण कोभिड संक्रमण नै भएको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। अनुप सुवेदी बताउँछन् । कोभिडपछि इन्फ्लुएन्जा अहिले आम समस्याको रूपमा देखिएको उनको भनाइ छ ।

अहिले देखिएको भाइरल रुघाखोकी र ज्वरो कोभिड संक्रमण हो वा होइन भनेर घरमै बसेर पत्ता लगाउन नसकिने उनलेले बताए ।

कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएर तीन दिनभन्दा बढी बिरामी भएमा पीसीआर परीक्षण गराउन डा। सुवेदीको सुझाव छ । अहिले यस्ता बिरामीले अस्पतालहरु भरिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्