अब झुत्रा नोटबाट ब्रिकेट !
काठमाडौं, भदौ १५ । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाइ ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ ।
नेदरल्यान्ड्सबाट पहिलो पटक भित्र्याइएको यस प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।
नेदरल्यान्ड्सको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार अहिले आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाण्डौ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागमा प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार यस मेशिनबाट काठमाण्डौमा ब्रिकेट उत्पादन गर्न सुरु भइसकेको छ भने आज मङ्गलवारदेखि नेपालगञ्जबाट पनि सुरु गरिनेछ र छिट्टै अन्य दुई ठाउँबाट पनि उत्पादन हुनेछ ।
आउँदो असोजसम्म बाँकी चार वटा मेशिन पनि झिकाइ जनकपुर, पोखरा, भैरहवा र धनगढीबाट उत्पादन सुरु हुनेछ, उनले भने । पहिलो पटक जलाइएका चार सय बन्डल नोटबाट झन्डै चार सय केजी खरानी निस्केको थियो । नोटको आकारअनुसार खरानीको परिणाम फरक पर्ने उनको भनाइ छ ।
चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउन झन्झटिलो हुने तथा धुवाँधुलोले वातावरण प्रदूषण हुने भएकाले आधुनिक प्रविधिअनुसार धुलाउने र त्यसलाई अन्य प्रयोजनमा ल्याउन सकिने भएकाले बैंकले उपकरण खरिद गरेको जनाएको छ । प्रमुख नेपालका अनुसार उपकरणको पहिलो भागले नोटलाई टुक्र्याउने काम गर्दछ भने दोस्रो भागले ब्रिकेट तयार गर्दछ । यसरी उत्पादन गरिएका ब्रिकेटलाई इँटाभट्टा वा कोइला प्रयोग हुने उद्योग, कारखानादेखि घरायसी प्रयोजनमा ल्याउन सकिने उहाँले जानकारी दिए । बैंकले प्रत्येक वर्ष झन्डै ४०–४५ अर्ब रुपैयाँको नोट नष्ट गर्ने गर्दछ । रासस
प्रतिक्रिया दिनुहोस्